neapl investment mega bank
  • गृहपृष्ठ
  • इराकमा अमेरिकी अधिकारीको सुरक्षाका लागि प्रधानमन्त्री मेहदीको आश्वासन : पोम्पेओ

इराकमा अमेरिकी अधिकारीको सुरक्षाका लागि प्रधानमन्त्री मेहदीको आश्वासन : पोम्पेओ

Jan 3rd, 2020

वासिङ्टन डीसी, १८ पुस (रासस/एएनआई)

इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरूको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिनुभएको छ ।

इराकस्थित अमेरिकी राजदूतावास नजिकै हिंसात्मक विरोध प्रदर्शन भइरहेका समय प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरूको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार बताउनुभएको हो ।

“प्रधानमन्त्री मेहदीसँग बिहीबार कुराकानी भएको त्यस अवसरमा उहाँले इराकमा रहेका सवै अमेरिकी अधिकारीलाई सुरक्षित राख्ने जिम्मेवारी आफ्नो मुलुकको सुरक्षाकर्मीको हुने बताउनुभएको छ,” अमेरिकी विदेशमन्त्रीले ट्विटरमार्फत लेखेको सन्देशमा भनिएको छ ।

“इराकी सुरक्षा दस्ताले इरान समर्थन प्राप्त आक्रमणकारीलाई अमेरिकी राजदूतावासबाट हटाउन थालिसकेको छ । हामीले आक्रमणमा जिम्मेवार इरान र उसको समर्थन प्राप्त समूहलाई हटाउने कामलाई निरन्तरता दिनेछौँ । ”

अमेरिकाले इराक र सिरियामा गरेको अवाई आक्रमणपछि इरानी समुदायको नजिक मानिने इराकी सिया प्रदर्शनकारीले मङ्गलबार इराकस्थित अमेरिकी राजदूतावासको बाहिरी क्षेत्रमा पुगी आगजनी गरेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित भिडियोमा देखाइएको थियो ।

आक्रमण प्रयासपछि विदेशमन्त्री पोम्पेओले यूक्रेनका लागि तय गरेको भ्रमण स्थगित गर्नुभएको छ ।

इराकमा गत अक्टोबरदेखि भएको भ्रष्टाचारविरूद्धको वैधानिक अभियान अर्थात् प्रयासलाई अस्पष्ट पार्न ‘इरानी सत्ताले आक्रमणका लागि गोप्यरूपमा नाटक रचेको’ र यसमा आतङ्कवादीहरूलाई अघि सारिएको पोम्पेओले दावी गर्नुभयो ।

यसैबीच अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता मोर्गन अर्टागसले इराकमा भएका पछिल्लो राजनीतिक विकासक्रमको प्रसंशा गर्दै भन्नुभयो, “इराकले आफ्नो भूमिमा विदेशी नागरिकको सुरक्षाका लागि गरेको प्रतिवद्धतापछि राजदूतावास वरपरको अवस्थामा सुधार आएको छ तर इराकले लडाकू समूहका सदस्यहरूलाई राजदूतावास क्षेत्रबाट हटाउन आवश्यक हुनेछ ।”

इरानको समर्थन रहेको भनिएको कताइब हेज्बुल्लाह लडाकू समूहसँग आवद्ध व्यक्तिले मङ्गलबार इराकस्थित अमेरिकी राजदूतावासको झ्यालहरू फुटाएको र बाहिरी भवनमा आगजनीसमेत गरेको अमेरिकाले बताएको छ ।