स्याङ्जा, पुस १६
स्याङ्जाको गल्याङ नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । भू–उपयोग नीति अनुसार नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको हो । केन्द्रीय सरकार पनि भूमि बैंक बनाउने बारे छलफल र अन्तरक्रियामा नै सीमित भएको बेला स्थानीय सरकारले भूमि बैंक बनाउने तयारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भूमि बैंक स्थापनाको तयारीका लागि भूमिको वर्गिकरणको सुरुवात वडाबाट गरिने भएको छ । माघ मसान्तसम्ममा सबै वडामा भूमिको वर्गिकरण गरि त्यसबाट आउने परिणामको आधारमा भूमि बैंक स्थापना गर्न लागिएको हो । नेपाल सरकारको पन्ध्रौं योजनामा समाबेश गरिए अनुसार ११ किसिमले जमिनको वर्गिकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी नगरपालिकाले गरेको छ ।
प्राविधिक सँगको समन्वयमा सबै वडाहरुको भूमिको वर्गिकरणको काम माघ मसान्त सम्ममा सक्न वडाध्यक्ष तथा जनप्रतिनिधिहरुलाई गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले बुधबार निर्देशन दिनुभएको छ । भूमि बैंक सम्बन्धि छलफल कार्यक्रममा नगरप्रमुख अधिकारीले जग्गा बाँझो राख्ने तर अर्कालाई भाडामा दिन दुःख मान्ने प्रबृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘आफ्नो जग्गा सके आफुले गर्ने नसके अरुलाई भाडामा दिन सकिन्छ, तर जग्गा बाँझो राख्ने काम गर्नु हुँदैन ।’ नगरप्रमुख अधिकारीले जनप्रतिनिधिहरु पनि व्यवसायिक रुपमा कृषि क्षेत्रमा लागेर अरुलाई प्रेरणा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘बाख्रापालन, गाइपालन, भैंसीपालन, अदुवा खेती वा घाँस खेती, जे सम्भव हुन्छ त्यही गर्नुस तर जग्गा बाँझो नराख्नुस् ।’
नगरप्रमुख अधिकारीले बाँझो जग्गाको कर बढाउने नीति लिने पनि स्पष्ट पार्नुभयो । सकेसम्म आफैलाई काम गर्न उत्प्रेरणा दिने र नभए अरुलाई दिएर भएपनि जग्गा बाँझो नराख्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बैदेशिक रोजगार र बसाइसराईलाई निरुत्साहित गर्नका लागि नगरपालिकाले यस्तो योजना ल्याएको नगरप्रमुख अधिकारीको भनाई छ । नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको स्मरण गर्दै उहाँले कृषि क्षेत्रमार्फत सम्बृद्वि ल्याउन भू उपयोग नीतिको कार्यान्वय र भूमि बैंक स्थापनाको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष तथा सहभागीहरुले सबै कुरालाई समेटेर भूमि बैंक स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । वडा नम्बर एकका अध्यक्ष तथा नगर प्रबक्ता गणेश बस्यालले ठाउँ अनुसारको भूमिको वर्गिकरणमा जोड दिनुपर्ने बताउनुभयो । वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराइले एक्लो र विकट वस्ती व्यवस्थापनलाई सबै भन्दा बढि ध्यान दिनुपर्ने बताउनुभयो ।
वडा नम्बर आठका अध्यक्ष भेकप्रसाद श्रेष्ठले जग्गाको चक्लाबन्दीमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै मालपोत कार्यालय वालिङका मालपोत अधिकृत हरिबहादुर भुजेलले नेपालको २७ प्रतिशत क्षेत्र कृषि योग्य भएपनि भूमि बैंकको अभावको कारण यसको सदुुपयोग हुन नसकेको बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै उहाँले २०६८ को जनगणना अनुसार नेपालका ७४ प्रतिशत जनसंख्या कृषिमा निर्भर भएपनि ५३ प्रतिशत जनतासँग आधा हेक्टर भन्दा थोरै जमिन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, ११ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभाका सदस्य तथा नगरपालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।