neapl investment mega bank
  • गृहपृष्ठ
  • वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वाधीनता केन्द्रमा हुनुपर्छ : नेता रावल

वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वाधीनता केन्द्रमा हुनुपर्छ : नेता रावल

Dec 28th, 2019

काठमाडौँ, १२ पुस (रासस)

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले वैदेशिक सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई दृष्टिगत गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीको विधान र राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका लागि राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति र असङलग्नताको विषयलाई महत्व दिइएको बताउनुभयो । नेता रावलले संयुक्त राज्य अमेरिकाको मिलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौताका कतिपय प्रावधान नेपालको हितमा नरहेकाले यसबारे नेपाल र अमेरिकाले स्पष्ट पार्नुपर्नेमा जाड दिनुभयो ।

पूर्वउपप्रधानमन्त्री रहनुभएका रावलले एमसीसीको सहयोगमा अमेरिकाको मात्रै रु ५५ अर्ब नभएको बताउँदै नेपालको पनि त्यसमा रु १३ अर्ब रहेकाले नेपालको महालेखापरीक्षकले लेखापरीक्षण गर्न नपाउने कुरा राष्ट्रिय स्वाधीनताको हितमा नरहेको विचार व्यक्त गर्नुभयो ।

नेता रावलले उक्त परियोजनामा नेपाल सरकारले राज्यका कुनै निकाय संलग्न गराउनु परेमा एमसीसीको स्वीकृति लिनुपर्ने भनेर लेखिएकाले त्यो अव्यावहारिक हुने हुँदा यस्ता विषयवस्तुमा संवेदनशील हुनुपर्ने बताउनुभयो । नेता रावलले समानताको आधारमा सम्झौता गर्न दुवै देशको परराष्ट्र मन्त्रालयबाट जवाफ आएमा उक्त सहयोग लिन हुने प्रस्ट पार्नुभयो ।