neapl investment mega bank
  • गृहपृष्ठ
  • तुलसीपुरको कल्ले, बल्ले, लामीडाँडामा सडक पुगेन ,“अहिलेसम्म सडक कस्तो हुन्छ, बिजुली कस्तो हुन्छ, देख्न पाएको छैन

तुलसीपुरको कल्ले, बल्ले, लामीडाँडामा सडक पुगेन ,“अहिलेसम्म सडक कस्तो हुन्छ, बिजुली कस्तो हुन्छ, देख्न पाएको छैन

Dec 27th, 2019

तुलसीपुर, ११ पुस (रासस)

तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का कल्ले, बल्ले, लामीडाँडा, सितेधारा, टुनापानी, राम्रीका तल्लो टोललगायतका गाउँमा हालसम्म सडक पुग्न सकेको छैन । “म अहिलेसम्म तुलसीपुर बजार पैदल हिँडेर आउने गरेको छु”, स्थानीय ६५ वर्षीय भीमबहादुर घर्तीले भन्नुभयो, “अहिलेसम्म सडक कस्तो हुन्छ, बिजुली कस्तो हुन्छ, देख्न पाएको छैन ।”

बाटोमा हिँड्दै गर्दा माथिबाट ढुङ्गा झर्ने भएकाले पैदलयात्रा गर्न समस्या हुने गरेको उहाँले दुखेसो पोख्नुभयो । “सडक पुगेको छैन्, कोही बिरामी परेमा डोकोमा बोकेर लैजानुपर्छ”, घर्तीले भन्नुभयो, “केहीको त समयमै अस्पताल लैजान नसक्दा बाटोमै मृत्युसमेत भएको छ, त्यसैले हामीलाई सडक अनिवार्य चाहिएको छ ।”

यहाँ करीब एक हजार घरधुरी बसोबास गर्दछन् । गाउँमा जान सडकको ट्र्याक खोल्न करोडौँ बजेट लाग्ने जनाइएको छ । “सडकका लागि थोरै थोरै गरेर बजेट आउछ”, स्थानीय अगुवा कर्णबहादुर बुढाले भन्नुभयो, “त्यो बजेटले अहिलेसम्म एक÷दुई किलोमिटरभन्दा बढी सडक खन्न सकिँदैन ।”

स्थानीय बासिन्दालाई तुलसीपुर बजार पुग्न करीब तीन घण्टा हिँड्नुपर्छ । “म विगत २७ वर्षदेखि यो बाटो हिँडिरहेको छु, यहाँबाट ती गाउँमा पुग्न करीब तीन घण्टा नै हिँड्नुपर्छ”, तुलसीपुरको राणागाउँ घर भई आधारभूत विद्यालय कल्लेका प्रधानाध्यापकसमेत रहनुभएका टेकबहादुर बुढाले भन्नुभयो, “सडक नहुँदा निकै समस्या बनाएको छ ।”