– विमलबहादुर विष्ट
डोटी, पुस १० (रासस)
डोटी जिल्लाको सदरमुकाम सिलगढी सुदूरपश्चिमकै मुख्य प्रशासन केन्द्रको रुपमा कायम रहँदै आएको छ । एक समय यो शक्तिशाली डोटी राज्यको राजधानीको रुपमा परिचित थियो । बाइसे–चौबीसे राज्यकालमा यहाँ कत्युरीवंशी हुँदै रैकावंशीको शासन चलेको पाइन्छ र त्यो विशाल नेपालमा नगाभिँदासम्म कायम रह्यो । राणाकालसम्म पनि यस क्षेत्रलाई सुदूरपश्चिमकै एक मुख्य प्रशासन केन्द्रको रुपमा तोकिएको देखिन्छ । तत्कालीन समयमा यो यो जिल्ला डोटी गौंडाको रुपमा परिचित थियो ।
विसं २०२९ मा पाँच विकास क्षेत्रअन्तर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको राजधानीको रुपमा दीपायल कायम गरिँदा लगभग १० किलोमिटर दूरीमा अवस्थित सिलगढीको चहलपहल र व्यापारमा सुस्तता आयो । अहिले दुबैलाई गाभेर दीपायल–सिलगढी नगरपालिका बनाइएको छ । यो क्षेत्र हाल नेपालको दोस्रो सानो १९ अजार ५३९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । सदरमुकाम दीपायल–सिलगढीबाट पुरानो प्रशासनिक केन्द्र सिलगढी १५ मिनेटको मोटरबाटोबाट सहजै पुग्न सकिन्छ ।
नेवार समुदायको मुख्य बसोवास रहेको पहाडको टुप्पोमा सिलगढी बजार रहेको छ । झ्यालखान डाँडाबाट करीव दुई किलोमिटरभन्दा माथि एकै लहरमा यो पुरानो बजार फैलिएर बसेको छ । नेपालको सुदूर भेगमा काठमाडौँ उपत्यकाबाट आएका नेवारहरुको यति ठुलो बस्ती देख्दा जो कोही अचम्म मान्छन् । आफ्नै कलाकौशल र एकैनासका कमेरो लिपेका सेता घरहरुले आगन्तुकलाई रोमाञ्चित पार्छ । काठमाडौँमा मात्र नेवार हुन्छन् भनेर बुझ्नेहरुका लागि यो एक चाखलाग्दो विषय हुने गरेको सिलगढीका स्थानीयवासी प्रवीण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “अन्य ठाउँका नेवारभन्दा पनि काठमाडौँका नेवार समुदायसँग हाम्रो अधिकाँश कुरा मिल्छ । काठमाडौँका नेवार जस्तै हामीले पनि यता आफ्नो धर्मकर्म गर्छौं ।” यस स्थानमा नेवारहरुको बसाइसराई ३०० वर्ष पहिलेदेखि हुन शुरु भएको स्थानीयवासी बताउँछन् ।
नेवारहरु मुख्य गरी व्यापारकै सिलसिलामा डोटी आइपुगेको सिलगढीका अर्का स्थानीयवासी टेकबहादुर अमात्यले बताउनुभयो । उहाँले भन्नुभयो – “नेवारहरु डोटीमा व्यापारका लागि आइपुगेको भन्ने छ । हाम्रो मुख्य पेशा अहिले पनि व्यापार नै रहेको छ ।” व्यापारका लागि यहाँ पुगेका नेवारहरुले यहीँकै परिवेश अनुसार आफ्नो छुट्टै पहिचान बनाएको उहाँले बताउनुभयो । यहाँ बनाइएका घरहरुका संरचना काठमाडौँवासी नेवारका भन्दा भिन्न देखापर्छ ।
डोटी राज्यमा बन्दव्यापार बढाई समृद्ध बनाउन यहाँका रैकावंशी राजाहरुले नेपालमण्डलका मल्ल राजाहरुसँग सन्धि गरी नेवार व्यापारीहरु झिकाएको इतिहासमा भेटिन्छ । नेपाल एकीकरण पछि भने यो क्रमले तीव्रता पाएको देखिन्छ । यो क्रम विसं २००७ मा प्रजातन्त्र आएपछि भने बन्द भएको जानकारहरु बताउँछन् ।
अहिले यहाँबाट नेवार सँगसँगै अन्य जाति तथा समुदाय सुविधासम्पन्न ठाउँमा बसाइसराई गर्न थालेका कारण डोटीको अस्तित्व सङ्कटमा पर्न थालेको बताइन्छ । डोटी बहुमुखी क्याम्पसका प्रमुख कृष्णबहादुर कठायतले भन्नुभयो – “नेवार समुदायले धानेको सिलगढीमा विस्तारै उनीहरु पनि सुविधा सम्पन्न ठाउँहरुमा बसाइँ सर्न थालेपछि जिल्ला सदरमुकामको चहलपहलमा कमी आउन थालेको छ ।”
नेवारहरुको विशिष्ट संस्कृतिको प्रभाव यस क्षेत्र तथा भारतको कुमाउसम्म फैलिएको देखिन्छ । यहाँ मनाइने गौरा पर्वमा नचाइने लाखे नाच यसको एक ज्वलन्त उदाहरण भएको सिलगढीका स्थानीयवासी सरिफ श्रेष्ठले बताउनुहुन्छ । उहाँका अनुसार सिलगढीमा नेवार समुदायले गाईजात्रा पर्व पनि मनाउने गर्दछन् । गाईजात्राको तेस्रो दिन मनाइने बाघजात्राको पनि छुट्टै पहिचान छ । नेवार समुदायले यहाँ इन्द्रजात्रा र रोपाइँ जात्रा पनि मनाउने गर्दछन् । ती जात्रा भने लोप हुँदै गइरहेकामा यहाँका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
यहाँको प्रमुख धार्मिकस्थलमध्येको एक हो शैलेश्वरी मन्दिर । सिलगढी बजारको मध्यभागमा कलात्मक ढङ्गमा निर्माण भएको शैलेश्वरी देवीको दर्शनले सबै दुःख र सन्ताप आफै हराएर गएको भान हुने मन्दिरका मूल पुजारी प्रेमशंकर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो – “मनमा जतिसुकै सन्ताप भएको भए पनि एक पल्ट शैलेश्वरी माताको दर्शन गरे सबै हराउँछ ।” पुरानो नेवारी बजार, नेवारी घरहरु, सुदूरपश्चिमेली रहनसहन, वेशभूषा, शैलेश्वरी मन्दिर परिसर, राणाकालीन दरबार र यहाँबाट देखिने अनुपम पहाडी दृश्यहरु यहाँका हेर्न लायक ठाउँहरु हुन् । केन्द्र सरकार र स्थानीय स्तरबाट यसको प्रवद्र्धन र संरक्षणको नीति नआउने हो भने यो इतिहासका पन्नामा मात्र सीमित हुने दिल्पेश्वर माविका प्रधानाध्यापक दीर्घबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो – “डोटीमा भएका कलाकारिता, परम्परा र संस्कृति सरकार तथा स्थानीय स्तरबाट संरक्षण नगरिए यो इतिहासका पानामै मात्र रहने निश्चित छ ।”
यही मार्ग हुँदै खप्तड राष्ट्रिय निकुञ्ज जान सकिन्छ । अछामको साँफेबगर र मङ्गलसेन पनि यहाँबाट सजिलै पुग्न सकिन्छ । सुदूरपश्चिमकै एक प्रमुख धरोहरको रुपमा जोगाउन यस स्थानको ऐतिहासिकतामाथि थप अनुसन्धान हुनुपर्ने स्थानीय बासिन्दाहरु बताउँछन् । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरले भन्नुभयो – “नेपालको पर्यटन उद्योगलाई सहयोग पु¥याउने हो भने हामी सबै मिलेर खप्तडसहित यहाँका पुराना पर्यटकीय स्थानको जगेर्ना गर्न सक्नुपर्छ ।”