neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा स्थायी कमिटी : सङ्गठनलाई एकताबद्ध र सुदृढ बनाउन नेताहरुको सुझाव

नेकपा स्थायी कमिटी : सङ्गठनलाई एकताबद्ध र सुदृढ बनाउन नेताहरुको सुझाव

Dec 20th, 2019

काठमाडौँ, ३ पुस (रासस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक पाँचौँ दिनमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमा सदस्यहरुले धारणा राख्ने क्रम आज सकिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरुमाथि स्थायी कमिटीका सदस्यहरुले धारणा राख्नुभएको थियो ।

प्रतिवेदनहरु परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावहरु राख्ने क्रममा आज १० जनाले सुझाव राख्नुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आज बोल्नेहरुमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ तथा स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, चक्रपाणि खनाल, सुवास नेम्वाङ, विष्णु रिमाल, भीम आचार्य रहनुभएको थियो । अब पार्टी महासचिव विष्णुप्रसाद पौडेलले मात्रै प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि धारणा राख्न बाँकी छ ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई कमीकमजोरी मुक्त गर्दै व्यवस्थित गर्ने, सङ्गठनलाई एकताबद्ध र सुदृढीकरण गर्ने, विचार, आचरण र व्यवहारमा सुधार गर्नेजस्ता विषयमा आ–आफ्नो कोणबाट वक्ताहरुले विचार, धारणा र आलोचना राख्नुभएको सो पार्टीको विज्ञप्तिमा जनाइएको छ ।

स्थायी समितिको अर्को बैठक यही पुस ५ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौँमा बस्नेछ । प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि प्रस्तुत धारणा, सुझाव र दृष्टिकोणलाई मध्यनजर गरी पार्टी अध्यक्षद्वयले परामर्श गरी निर्णयको तयारीका निम्ति शुक्रबार एक दिन बैठक स्थगित गरिएको जनाइएको छ ।