काठमाडौँ, ३ पुस
वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेपछि इंग्लिस क्लब लिभरपुल विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित खालिफा स्टेडियममा बुधबार राति भएको खेलमा लिभरपुलले मेक्सिकन क्लब मोन्टेरीलाई २–१ को जित निकालेको थियो।
खेलमा लिभरपुलले ११औं मिनेटमा नेबी केइताको गोलबाट सुरुवाती अग्रता लिएको थियो । लिभरपुलको त्यो अग्रता दुई मिनेटमै तोडिएको थियो । खेलको १४ औँ मिनेटमा फुनेस मोरीले मोन्तेरीका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
तर ८५ औं मिनेटमा डिभोक ओरिगीको स्थानमा मैदान प्रवेश गरेका फिर्मिनोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै लिभरपुललाई विश्वकपको फाइनलमा पुर्याए ।
अब लिभरपुलले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब फ्लामेन्गोसँग खेल्ने छ ।