काठमाडौ, पुुस १
अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोलिटले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेकाछन । उक्त भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदुतलाई स्वागत गर्दे सफल कार्यकालको लागि शुभकामना दिए । साथै, नेपालको सहयोगमा बेलायत सरकारबाट सदियौ देखि प्राप्त सहयोगको लागि धन्यवाद दिए ।
भेटमा माननीय अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराएकाछन । अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि बेलायत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिए । बेलायतसँग दोहोरो कर मुक्ति सम्भmौताको प्रक्रिया अघि बढेको उल्लेख गर्दे उनले लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गरे । नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्दे माननीय अर्थमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गर्न समेत आग्रह गरे ।
राजदुत पोलिटले नेपाल र बेलायत बीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसगँ सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउदै नेपालको प्राथमिकता अनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने बताए ।