neapl investment mega bank
  • गृहपृष्ठ
  • वर्षात्का कारण बाँकेमा रु १० करोड बढीको इँटा नष्ट

वर्षात्का कारण बाँकेमा रु १० करोड बढीको इँटा नष्ट

Dec 14th, 2019

राँझा, २८ मङ्सिर (रासस)

शुक्रबार दिनभरको वर्षात्का कारण बाँकेमा इँटा व्यवसायीले रु १० करोड बढीको नोक्सानी व्यहोर्नुपरेको छ । तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबारको वर्षाले प्रत्येक इँटा व्यवसायीको रु २० लाखका दरले क्षति भएको अनुमान छ । वर्षात्ले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इँटा व्यवसायीको अनुमानित सात करोड बढी काँचो इँटा काम नलाग्ने गरी नष्ट पारेको छ । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको बाँकेका इँटा व्यवसायी दीपक अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्षात्मा सात करोड इँटा नष्ट भएकाले अर्कोपटक इँटा उत्पादन नहुँदासम्म इँटा अभावको सम्भावना देखिएको छ । इँटा उत्पादकले सिजनमा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन् । एक पटकमा छ देखि १० लाखसम्म इँटा तयार पारिने व्यवसायी अधिकारीले बताउनुभयो । शुक्रबारको वर्षात्ले बाँकेका धेरैजसो इँटा उद्योगका काँचो इँटा गलेर नष्ट छ ।

इँटाको बिमा गर्ने व्यवस्था नभएका कारण व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको सङ्घका अध्यक्ष खाँको भनाइ थियो । व्यवसायीले इँटाको पनि बिमा हुनुपर्ने माग गरेका छन् ।