neapl investment mega bank

बिच भलिबलमा नेपाललाई कास्य पदक

Dec 8th, 2019

कास्की, २२ मङ्सिर (रासस)

नेपालमा जारी तैह्रौैँ दक्षिण एशियाली खेलकूद(साग) मा पहिलो पटक समावेश गरिएको बिच भलिबलमा नेपाली महिला टोलीले कास्य पदक जितेको छ ।

फेवाताल किनारस्थित बाराहीघाटमा सञ्चालन भएको प्रतियोगितामा आजको खेलमा नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरी कास्य जितेको हो ।

पुरुषतर्फ नेपालका दुवै टोली लिग चरणबाट बाहिरिएका थिए भने महिलाका दुवै टोली समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेर नेपाललाई बिच भलिबलमा पदक विहीन हुनबाट जोगाएका थिए । महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई काश्यका लागि भएको स्पर्धामा श्रीलङ्काको महिला र पुरुषको दुवै टोली समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।

बिच भलिबलको महिला तथा पुरुष दुवैतर्फको स्वर्ण र रजत पदक श्रीलङ्काले जित्न सफल भयो । पुरुषतर्फ श्रीलङ्काका प्रदीप आसङ्का र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जित्न सफल भयो । महिलातर्फ श्रीलङ्काकै दीपिका जेडेरा र मधुशानी वीरासिङ्गेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जिते ।

पुरुषतर्फ पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर पाकिस्तानले कास्य पदक जित्न सफल भयो । यही मङ्सिर १९ गतेदेखि शुरु भएको बिच भलिबलको स्पर्धामा महिलातर्फ आयोजक नेपालसहित श्रीलङ्का र माल्दिभ्स सहभागी थिए भने पुरुषतर्फ नेपालसहित श्रीलङ्का पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स सहभागी थिए ।