दमौली, २१ मङ्सिर (रासस)
तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ । उक्त ठाउँका शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले रु एक करोड २० लाख बराबरको सुन्तला बिक्री गर्नुभएको हो ।
यस वर्ष शुकनारायणले रु ५० लाख, विश्वबहादुरले रु ४० लाख, निर्मलले रु १८ लाख र रामबहादुरले रु १२ लाखको सुन्तला बिक्री गर्नुभएको छ । चालीस रोपनी क्षेत्रफलमा ८०० सुन्तलाको बोट रहेकामा ७०० सुन्तलाको बोटले उत्पादन दिएको स्थानीयवासी शुकनारायणले जानकारी दिनुभयो । श्रेष्ठले गत वर्ष रु ३१ लाख बराबरको सुन्तला बिक्री गर्नुभएको थियो ।
अर्का किसान विश्वबहादुरले ६०० बोट र रामबहादुरले ३५० बोटबाट आम्दानी गर्नुभएको हो । कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष खानीगाउँमा राम्रो सुन्तला उत्पादन भएको बताउनुभयो । ‘‘जिल्लाका केही ठाउँमा विभिन्न रोगका कारण सुन्तलाको बोट नष्ट हुने समस्या देखिए पनि म्याग्दे गाउँपालिकामा भने कुनै समस्या भएन’’, तिवारीले भन्नुभयो ।
सुन्तला उत्पादक कृषक विश्वबहादुरले रोगका कारण मात्रै नभई व्यवस्थापन कमजोर हुँदा पनि सोचे जति उत्पादन हुन नसक्ने बताउनुभयो । अधिकारीले सुन्तला व्यवस्थापनका लागि मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी लगानी गर्ने गरेको बताउनुभयो ।
तनहुँमा कूल एक हजार ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भिमाद नगरपालिका–९ भानुमतीलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लामा गत वर्ष रु २७ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस वर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन हुने अनुमान छ । यहाँ उत्पादित सुन्तला पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।