– जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, १६ मङ्सिर (रासस)
वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिनुभयो ।
राष्ट्रिय चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भट्टराई प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित हुनुभयो । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतान्तरले विजय हासिल गरेर राजनीतिमा आफ्नो पकड देखाउनुभयो ।
दिवङ्गत नेता रवीन्द्र अधिकारीका जीवनसँगीनी भएकाले पनि उहाँप्रतिको चासो उत्तिकै थियो । राजनीतिक पृष्ठभूमिका आधारमा उहाँ राजनीतिमा आउनुपर्छ भन्ने जमात पनि बाक्लै थियो, त्यही भावनालाई नेकपाले मनन गरेर टिकट दियो । जब नेकपाको कास्की जिल्ला कमिटीले उहाँलाई एकमात्र उम्मेदवारका रुपमा नाम सिफारिस ग¥यो, तब उहाँमाथि पार्टीभित्रैबाट रोक्न प्रयास नभएको होइन ।
नेत्री भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका एक अभियानकर्मी अधिकारीले विकास र समृद्धिका लागि साँच्नुभएका सपना तथा आफ्ना योजनालाई पूरा गर्दै जनताको आफूमाथिको आशा र भरोसा टुट्न नदिएर राजनीतिक यात्रामा अघि बढ्ने बताउनुभयो ।
भट्टराईले कहीँ कतै एक थोपा आँसु झारेर मत माग्नु भएन । पीडाका ती तमाम अवस्था बिर्सन खोजे पनि उहाँका अगाडि मतदाता रवीन्द्रलाई सम्झेर भक्कानिन्थे तर उहाँले आफूलाई सम्हाल्नुभयो र मतदातालाई निडर भएर सम्झाउनुभयो ।
आरोप प्रत्यारोपमा नउत्रिएर राजनीतिक संस्कारको उच्चतम उदाहरण उहाँले प्रस्तुत गर्नुभएको थियो । विद्या भट्टराई आफ्ना पति अधिकारीको मृत्युपछि कुनै पदको लोभले राजनीतिमा प्रवेश गर्नुभएको कदापि थिएन । एउटा बाध्यता थियो । आम जनताको चाहना थियो ।
विसं २०२९ कात्तिक २९ मा काठमाडौँमा जन्मनुभएकी भट्टराईमा सानै उमेरमा राजनीतिक चेत थियो । उहाँ ७ कक्षा पढ्दा नै अनेरास्ववियुमा आबद्ध हुनुभएको थियो । विसं २०४२ मा पशुपति मित्र मावि, चावहिल काठमाडौँमा ७ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियुले आयोजना गरेको सरसफाइ आन्दोलन, हाजिरीजवाफ, वक्तृृत्वकला, वृक्षरोपण आदिमा सहभागी भएर उहाँले आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभयो ।
विसं २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुनुभयो । अखिल नेपाल महिला सङ्घको जिल्ला समिति काठमाडौँमा कोषाध्यक्ष हुँदै उहाँ तत्कालीन नेकपा ९एमाले०को सङ्गठित सदस्यका रुपमा राजनीतिक यात्रामा अघि बढ्नुभयो । विसं २०४८ मा अनेरास्ववियु राष्ट्रिय परिषद्मा निर्वाचित भएकी विद्या १८ वर्षकै उमेरमा एमाले वडा कमिटी सदस्यसमेत बन्नुभयो । नेविसङ्घको वर्चस्व रहेको पद्मकन्या क्याम्पसमा २०४९ सालमा स्ववियु सभापतिमा उम्मेदवार बन्नुभएको थियो । विसं २०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा उहाँ क्रियाशील हुँदै २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बन्नुभयो । पार्टीको सिद्धान्त र विचारबाट निरन्तर अघि बढ्दै जाँदा एमालेका जुझारु युवानेता अधिकारीसँग उहाँको निकटता बढ्यो । साथीभाइको शुभेच्छा र विचारको निकटाताले रवीन्द्र र विद्यालाई जीवनमा पनि एक हुन प्रेरित ग¥यो । उहाँहरुले २०५६ साल असार २६ गते वैवाहिक जीवन प्रारम्भ गर्नुभयो ।
रवीन्द्रको राजनीतिक गतिशीलतालाई उचाइ दिन र परिवारलाई व्यवस्थापन गर्ने थप जिम्मेवारी बहन गर्न उहाँ पर्दा पछाडिबाट राजनीति सहायोगीका रुपमा भूमिका निर्वाह गर्नुभयो । विसं २०५८ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन शुरु गर्नुभएका भट्टराई पछिल्लो समय त्रिविमा उपप्राध्यापक हुनुहुन्थ्यो । उहाँले समाजशास्त्रमा एमफिल गर्नुभएको छ भने त्रिविमा समाजशास्त्रका सिद्धान्त र विकासका सिद्धान्तको अध्यापन गराउँदै आउनुभएको थियो । राजनीतिक चेत समाजको गहिरो अध्ययनले प्राध्यापन पेशामा राजीनामा दिएर राजनीतिमा पुनरागमन गर्नुभयो ।
प्राज्ञिक र तार्किक क्षमताका रुपमा परिचित उहाँ चुनावी अभियानमा घरदैलोमा पुग्दा लोकप्रिय उम्मेदवारका रुपमा स्थापित हुन सफल हुनुभएको थियो । उहाँको राजनीतिमा पुनरागमनले धेरै महिलालाई राजनीतिमा ऊर्जा थपेको देखिन्छ । अहिले विद्याले जीत हासिल पारेको यस क्षेत्रमा रवीन्द्रले पहिलो संविधानसभा २०६४ र दोस्रो संविधानसभा २०७० र आम निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन २०७४ सालमा जितेर ह्याट्रिक गर्नुभएको थियो । रवीन्द्रको उत्तराधिकारीका रुपमा चुनावी मैदानमा होमिनुभएकी भट्टराईले रवीन्द्रको विरासतलाई जोगाउँदै विजय यात्रा जारी राख्न सफल हुनुभयो । विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको निधनले शोकमा रहनुभएकी भट्टराईले शोकलाई शक्तिमा बदले आम कस्केलीको चाहनालाई स्वीकार्दै चुनावमा होमिनुभयो र विजयी हासिल गर्नुभयो ।