जलेश्वर, १५ मङ्सिर (रासस)
महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरीले तीन हजार २४९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीनहजार ४१ मत ल्याउनुभयो ।
त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले दुईहजार ९८४ मत ल्याएर तेस्रो स्थानमा रहनुभयो भने नेपाली काँग्रेसका उम्मेदवार विजय यादवले एकहजार ९३५ मत ल्याएर चौथो स्थान प्राप्त गर्नुभएको छ । नेकपाका उम्मेदवार चौधरीले समाजवादी पार्टीका उम्मेदवार यादवभन्दा २०८ बढी मत ल्याएर विजयी हुनुभएको हो । यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट राजपा नेपालले जीत हासिल गरेको थियो ।