काठमाडौं, मंसिर १५
विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आक्रमण तथा आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने तथा भौतिक पूर्वाधारका कार्यहरु समयमा हुन नसकी राज्यले लिएको लक्ष्य समेत पुरा हुन नसक्ने महासंघको भनाइ छ । यसैबीच राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्ग अन्र्तगत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रा.लि.को स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा शनिवार राति अज्ञात समुहद्घारा ग्यारेज भित्रै आगजनी गरिएको महासंघले जनाएको छ । “आगजनीको यस घटनाबाट महासंघ स्तब्ध सँगसँगै आक्रोशित भएको छ” महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दिक्तेलको दोर्पामा ३ थान तथा भोजपुरको नौलेगाउँमा एक थान एक्साभेटरमा आगजनी गरिएको र आगजनीबाट करीब ४ करोड रुपँैया बराबराको क्षति भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
साथै फेवा कन्स्ट्रक्सनले काम गरिरहेको बागलुङ नगरपालिका, पञ्चकोटको सडक निर्माणको कार्यमा प्रयोग गरिएको पहारी कन्स्ट्रक्सनको १ थान रोलरमा समेत अज्ञात समुहद्घारा आगजानी गरिएको महासंघले जनाएको छ । व्यवसायी र उनीहरुको उपकरणको सुरक्षालाई लिएर सरोकारवाला निकायहरुको पटक पटक ध्यानाकर्षण गराउँदा समेत यस्ता घटना दोहोरिनु ठूलो चिन्ताको विषय भएको विज्ञप्तिमा जनाइएको छ । “विविध चुनौतिका बाबजुद निर्माण कार्यमा अहोरात्र खटिने व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी भएको यस आततायी घटनाको महासंघ कडा शब्दमा निन्दा गर्दछ” विज्ञप्तिमा अगाडि भनिएको छ ।
विगतमा यस्ता घटनामा संलग्नलाई कार्वाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको छ भन्दै महासंघले मुलुकमा दुई तिहाईको शक्तिशाली सरकार रहेको वर्तमान अवस्थामा समेत व्यवसायी र उनीहरुका उपकरण निरन्तर असुरक्षित भइरहनु ठूलो बिडम्बना हो भनेको छ । महासंघले विज्ञप्ति मार्फत् घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ । साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ ।
व्यवसायीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै महासंघले व्यवसायीहरु माथिको अन्याय, अत्याचार नरोकिए पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।