काठमाडौं, १४ मंसिर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति विरुद्ध मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । कास्की क्षेत्र नम्बर २ को चुनावीसभामा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको उमेरमाथि सवाल उठाउँदै ‘देवघाट जाने बेलामा चुनाव लड्ने’ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्ड विरुद्ध जेष्ठ नागरिकले प्रदर्शन थालेका हुन् । शुक्रबार प्रचण्डकै गृहजिल्ला चितवनमा पनि उनीविरुद्ध प्रदर्शन भएको छ । जेष्ठ नागरिक समाजले गरेको प्रदर्शनमा उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
‘बोल्न नजाने बोल्न सिक्नु हामी बृद्धको आशिर्वाद छ, बृद्धबृद्धाको अपमान किन?’ लगायतका नारा लेखेएका प्ले कार्ड र व्यानरसहित जेष्ठ नागरिकले प्रदर्शन गरेका हुन् । ‘प्रचण्डको अभिव्यक्ति खेदजनक छ, जेष्ठ नागरिकको मत नपाइ उहाँले जित्नु भएको हो र !,’ भरतपुर नगरपालिका–७ का प्रकाशमणि दाहालले भने, ‘जेष्ठ नागरिकको अपमान गर्ने हक कसैलाई छैन, उहाँले माफी माग्नुपर्छ ।
प्रधानमन्त्री ओलीको गृह जिल्लामा प्रदर्शन
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि प्रचण्डको अभिव्यक्ति विरुद्ध प्रदर्शन भएको छ । जेष्ठ समूहले काँकरभिट्टामा आयोजना गरेको प्रदर्शनका सहभागीले ‘तपाई पनि एक दिन बृद्ध हुनुहुनेछ, एकदिन सबै बृद्ध हुन्छन्, बृद्धको नगर अपमान’आदि लेखिएका पोस्टर बोकेका थिए ।