neapl investment mega bank
  • गृहपृष्ठ
  • सेनाद्वारा वृद्धवृद्धालाई न्यानो लुगा वितरण

सेनाद्वारा वृद्धवृद्धालाई न्यानो लुगा वितरण

Nov 27th, 2019

भीमदत्तनगर, ११ मङ्सिर (रासस)

नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ । सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामग्रीसमेत उपलब्ध गराएको छ ।

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र देवीदल गण मझगाउँ ब्यारेकले वृद्धाश्रमका ६२ वृद्धवृद्धालाई न्यानो लुगा, चामल, दाल, चिनी, तेललगायत सामग्री वितरण गरेको हो । सेनाले बढ्दै गरेको जाडोलाई ध्यानमा राखी न्यानो लुगा वितरण गरिएको जनाएको छ । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शङ्कर पण्डितले महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सेनाको सहयोग सामग्री प्राप्त गरेपछि अध्यक्ष चन्दले नेपाली सेनाले एक दशकभन्दा बढी समयदेखि वद्धाश्रमलाई सहयोग गर्दै आएको बताउनुभयो ।

विसं २०६३ मा सेनाकै सहयोगमा वृद्धाश्रम भवन निर्माण गरिएको हो । वृद्धाश्रम सञ्चालनमा नेपाली सेनाको ठूलो सहयोग रहेको छ । सो अवसरमा सेनाको श्री नं २५ फिएको चिकित्सकसहितको टोलीले वृद्धवद्धाको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । श्री नंं २५ फिएबाट उपसेनानी डा बबिता सिल्वालसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । खाद्य सामग्री वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रममा सहायकरथी पण्डित, देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यात, श्री नं २५ बाहिनीका सेनानी गोरख पुजारालगायत सैनिक अधिकृतको सहभागिता थियो ।