गोरखा, मंसिर १०
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले गोरखा बारपाक सुलिकोट गाउँपालिका १ स्थित प्रहरी चौकी बारपाकको नवनिर्मित भवनको सोमबार उद्घाघटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले कुनै पनि प्रहरी कार्यालय आमनागरिकको आस्था र भरोसाको केन्द्र समेत भएको उल्लेख गर्दै नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास एवम् भरोसा अनुरुप सांगठनिक शुद्धिकरण र सुदृढिकरण गर्दै थप परिष्कृत एवम् जनलक्षित प्रहरी सेवा प्रवाह गर्दै आइरहेको बताउनुभयो । समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सबै निकायहरुको भूमिका समेट्ने हेतूले लागू गरिएको समुदाय(प्रहरी साझेदारी कार्यक्रमको मुल मर्म अनुरुप नै सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु प्रसाद भट्टले गाउँस्तरमा उक्त सुविधा सम्पन्न प्रहरी भवनको निर्माण हुनु सबैका लागि गर्वको विषय भएको बताउँदै प्रहरी सफल भएमात्रै समाज सुदृढ र समुन्नत हुने हुँदा सबैले प्रहरीप्रति आत्मियता देखाउनुपर्ने चर्चा गर्नुभयो । नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनस्निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूनस्निर्माण प्राधिकरण कोषबीच सम्झौता भई कुल १ करोड ४५ लाख ५२ हजार ९ सय ८७ रुपैयाँ २९ पैसाको लागतमा उक्त चौकीको कार्यालय तथा व्यारेक भवन, मेश र शौचालयको निर्माण कार्य सम्पन्न भएको हो ।