– नरेन्द्रसिह कार्की
दार्चुला, १० मङ्सिर (रासस)
सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको गोकुलेश्वर विमानस्थल चालू आर्थिक वर्षभित्रै निर्माण शुरु हुने भएको छ । छब्बीस वर्षदेखि बन्द विमानस्थलको प्राविधिक प्रतिवेदन तथा स्थलगत निरीक्षण भएसँगै विमानस्थल निर्माण सञ्चालन हुने भएको हो ।
गत कात्तिक अन्तिम साता नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोगको टोलीले गोकुलेश्वर विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो । आयोगका सदस्य डा रामकुमार फुयाँलले विमानस्थल निर्माण चालू आवभित्रै सञ्चालन हुने जानकारी दिनुभयो ।
“प्राविधिक प्रतिवेदनका आधारमा गोकुलेश्वर विमानस्थललगायत सुदूरपश्चिमका अन्य विमानस्थलको निरीक्षणमा आएका हौँ”, उहाँले भन्नुभयो, “गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न धेरै समस्या छैन ।” उहाँले दार्चुला–बैतडी जोड्ने चमेलिया पुलका कारण त्यति धेरै समस्या नभएको तर विमानस्थल सञ्चालन गर्न मैदानमा माटो थप्नुपर्ने बताउनुभयो । यस्तै सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसका केही भाग तथा चार निजी घरले थोरै समस्या भए पनि विमानस्थल सञ्चालन गर्न गाह्रो नभएको उहाँको भनाइ छ ।
विमानस्थल माटो भरेर निर्माण गर्न सकिन्छ । यसका लागि झण्डै रु पाँच करोड खर्च हुने अनुमान गरिएको छ । दुई जिल्ला जोड्ने मोटरेवल पुल हटाउँदा रु ३० करोड खर्च हुन्छ । नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर प्रतीक प्रधानको टोलीले दिएको प्राविधिक प्रतिवेदनअनुसार अहिले विमानस्थलको अवस्थाबारे निरीक्षण भइरहेको छ । आयोगका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसमेत हेर्दै आउनुभएका सदस्य फुयाँलले विमानस्थल निर्माणको औचित्यसहितको प्रतिवेदन स्वीकृतिसँगै निर्माण अघि बढ्ने बताउनुभयो ।
विसं २०५०÷५१ देखि पूर्णरूपमा बन्द गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद गणेशसिंह ठगुन्नालगायतको पहलले गर्दा अहिले प्राविधिक निरीक्षण भएको हो । चालू आवमा विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन, सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, स्तरोन्नतिलगायतका लागि सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ ।
तत्कालीन बोहरीगाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयवासीले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा विसं २०४४÷४५ तिर विमानस्थल निर्माणको काम शुरु भएको थियो । विसं २०४६ देखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० देखि पूर्णरूपमा बन्द भएको हो । तत्कालीन सशस्त्र द्वन्द्वका कारण विमानस्थल पुनः सञ्चालन गर्न सकिएको थिएन ।
विसं २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । यो विमानस्थल गाई, भँैसी चरन तथा खेलमैदानका रूपमा प्रयोग हुँदै आएको छ । नेपाल भ्रमण वर्ष शुरु हुनै लाग्दा सरकारले देशभर बन्द रहेका र नयाँ निर्माण गर्नुपर्ने विमानस्थलको निरीक्षण, सम्भाव्यता अध्ययन र स्तरोन्नतिको काम थालनी गरेको छ । विमानस्थल सञ्चालन गर्न सके दार्चुला, बैतडी र बझाङका नागरिक लाभान्वित हुनेछन् । पर्यटन विकास, जनजीविका, व्यापार र यस क्षेत्रको विकासका लागि यो विमानस्थल निर्माण जरुरी रहेको आयोगका सदस्य फुयाँल बताउनुहुन्छ ।
प्राविधिकरूपले यो विमानस्थलको लम्बाइ चौडाइ पनि बढी नै छ । बैतडीको पाटन विमानस्थलभन्दा गोकुलेश्वर विमानस्थलको लम्बाइ र चौडाइ बढी छ । विमानस्थलका लागि सामान्यतया ६०० मिटर लम्बाइ र ४० देखि ५० मिटर चौडाइ हुनुपर्ने हुन्छ तर गोकुलेश्वर विमानस्थलको लम्बाइ ६५० तथा चौडाइ ८७ देखि १३५ मिटर रहेका कारण विमानस्थल सञ्चालन गर्न उपयुक्त रहेको फुयाँलको भनाइ छ ।
विमानस्थल सञ्चालन नहुँदा पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुलाको पर्यटन प्रवद्र्धन हुनसकेको छैन । प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । “यो विमानस्थल सञ्चालन गर्न हामी निरन्तर पहल गर्छौँ”, सदस्य फुयाँलले भन्नुभयो, “हामीले प्रतिवेदन दिएपछि मन्त्रीस्तरको भ्रमण हुन सक्छ, यो विमानस्थल बन्नेमा अब कुनै दुविधा छैन ।”
“दार्चुला जडीबुडी, पर्यटन र उद्योगको लागि उपयुक्त छ । यी सबै कुरा जोड्नका लागि सडक यातायात र हवाई यातायात पूर्वाधार आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।
यस क्षेत्रको पर्यटकीय विकासका लागि आयोगले विशेष ध्यान दिएको भन्दै उहाँले सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माणाधीन दार्चुला–तिङ्कर सडक, महाकाली करिडोर निर्माण र अन्य सडक प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । हामीले महाकाली करिडोरअन्तर्गतको दार्चुला–तिङ्कर सडक निर्माणलाई कूटनीतिक र रणनीतिकरूपमा निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।
यस क्षेत्रको विकासका लागि दार्चुलामा निर्माणाधीन महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर, गोकुलेश्वर–विटुले–पारिबगर–खण्डेश्वरी, गोकुलेश्वर–खार–खलङ्गा सडक तथा महाकाली करिडोरको लाली क्षेत्र भएर आउने सडक निर्माण पहिलो प्राथमिकतामा राखेर योजना अघि बढाइनुपर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुझाव दिनुभएको छ । यी सडक पूर्वाधार र हवाई यातायात सञ्चालन गर्न सकिने हो भने दार्चुलाको पर्यटकीय दृष्टिकोणले महत्व बढ्ने उहाँको भनाइ छ ।
जिल्लाको अपि नाम्पा संरक्षण क्षेत्र सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यको सूचीमा छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र अपि हिमाल, नाम्पा हिमाल, कापु, जेठबहुरानीलगायत उच्च हिमशृङ्खला छन् । यार्सागुम्बालगायत ७५ प्रकारका जडीबुटी र २२ प्रकारका वन्यजन्तु यही क्षेत्रमा छन् ।
दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना पर्यटकीय क्षेत्रको विकासका लागि हवाई र सडक यातायात प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुहुन्छ । हामीसँग सडक पूर्वाधार निर्माण गरिएका छैनन् । होटल व्यवस्थापन गरिएको छैन । नेपाल भ्रमण वर्षका लागि भए पनि सरकारले पूर्वाधार क्षेत्रको विकासलाई दु्रतगतिमा निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।
सरकारले यस वर्ष दार्चुलामा पदमार्ग निर्माण, पूर्वाधार निर्माणलगायतमा झण्डै रु डेढ करोड बजेट विनियोजन गरेको छ । सोअनुसार राप्ला–व्यास हुँदै कैलाशमार्ग निर्माणका लागि रु ३५ लाख, खण्डेश्वरी–घुसा हुँदै अपि आधार शिविरसम्मको पदमार्ग निर्माणका लागि रु २५ लाख, उकु–महललगायत पूर्वाधार निर्माणमा रु ६० लाख विनियोजन गरेको छ ।
आयोगको टोलीले बैतडीमा निर्माणाधीन पाटन विमानस्थलको पनि स्थलगत निरीक्षण गरेको छ । पुस मसान्तभित्र निर्माण सक्ने लक्ष्य लिइएको पाटन विमानस्थलको काम यही महिनाभित्र सकिने आयोगका सदस्य फुयाँलले बताउनुभयो । विमानस्थलको पर्खाल, ढल निकास तथा टावर निर्माण गर्न सकियो भने चाँडै बैतडीको पाटन विमानस्थल सञ्चालन हुने उहाँको भनाइ छ । टोलीले डडेल्धुराको अजयमेरुकोट विमानस्थल तथा धनगढी विमानस्थलसमेत निरीक्षण गरेको छ ।