neapl investment mega bank
  • गृहपृष्ठ
  • ऊर्जामन्त्री–चिनियाँ राजदूतबीच भेटवार्ता : नेपाल–चीनबीच भएका समझदारीलाई अघि बढाउने विषयमा छलफल

ऊर्जामन्त्री–चिनियाँ राजदूतबीच भेटवार्ता : नेपाल–चीनबीच भएका समझदारीलाई अघि बढाउने विषयमा छलफल

Nov 24th, 2019

काठमाडौं, ८ मंसिर
ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गर्नुभयो ।

भेटमा उर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो । उहाँले नेपाल चीनबीचको उर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौतमा भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाई थियो । मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागी अर्थमन्त्रालय मार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियां राजदूतको ध्यानआकर्षण गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पुर्ण रुपमा सहजीकरण गरिरहेको बताउनुभयो ।

भेटमा चिनियाँ राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागी इच्छुक रहेको धारणा राख्नुभयो । उहाँले चिनियाँ कामदारले ब्यहोरिरहेका भिषाको समस्या, लगानीकर्ताका नितीगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा उर्जामन्त्रीले खेलेको भुमिकाको प्रशंसा व्यक्त गर्नुभयो । साथै उर्जा संयन्त्रको बैठकका लागी आफुले सरोकारबाला निकायसंग छलफल गरेर बैठकको मिती चाँडै टुंगो लगाउने जानकारी दिनुभयो ।

चिनियाँ राजदूत यान्छीले उर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गर्भनरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा उर्जा क्षेत्रमा सहकार्य गर्न आफुहरु इच्छुक रहेको धारणा राख्नुभयो । राजदूत यान्छीले भेटमा भन्नुभयो, ‘चीनबाट गर्भनर तहकै भ्रमण हुँदैछ, युनान जलविद्युत र उर्जा क्षेत्रमा निकै प्रगती गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ ।’