neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया

‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया

Nov 24th, 2019

पोखरा, ८ मङ्सिर (रासस)

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पोखरामा ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० गण्डकी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा पोखरामा क्रियाशील ३० जना पत्रकारको सहभागिता रहेको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारिता संवेदनशील पेशा भएकाले तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

उहाँले निर्वाचनको समाचार सङ्कलन गर्दा निर्वाचन आचारसंहिताको पालना गरेर समाचार सङकलन र सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा राजनीतिक दल, उम्मेद्वार, नागरिक समाज, मतदाता र सञ्चारकर्मीको काम कर्तव्य र दायित्वलगायतका विषय समेटिएको थियो ।

उहाँले उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको र निर्वाचन, स्वच्छ र मर्यादित बनाउने जिम्मेवारी सबैको रहेको बताउनुभयो । पत्रकार भरत कोइरालाले निर्वाचनको रिपोर्टिङ गर्दा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवारीका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।