लाहोर, पाकिस्तान,३ मङ्सिर (रासस/एएफपी)
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गर्नुभएको छ ।
एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उहाँ बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गर्नुभएको हो । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उहाँलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उहाँलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु) को व्यवस्था उपचार भइरहेको थियो ।
तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उहाँलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो । जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमती दिएको थियो ।
तीन पटकसम्म देशको प्रधानमन्त्री हुनुभएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरुले बताएका छन् । उहाँका चिकित्सकहरुका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहनु भएको छ । उहाँलाई उपचार गर्न विदेश जान दिने की नदिने भन्ने बारेमा लामो समयसम्म छलफल भएपछि सरकारले उहाँको अवस्था थप नाजुक हुदै गएकाले विदेश जान दिने अनुमति दिएको हो ।