धादिङ, २९ कात्तिक
स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई धुनिबेशी नगरपालिका ५ बाट बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१२ बस्ने रोहन महर्जन, काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने जुम्ला आचार्यबाडा गाउँपालिका-१५ का २१ वर्षीय रमेश शाही, काठमाडौं महानगरपालिका-१४ खसीबजार बस्ने सबिन शाक्य र धादिङ धुनिबेशी नगरपालिका-५ पुरन्डी बस्ने ४० वर्षीय कुमार रेग्मी रहेका छन् ।
धादिङ धुनिबेशी नगरपालिका-५ पुरन्डीमा चोरीको स्कुटर बेचबिखन भइरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले रोहन महर्जन, रमेश शाही र सबिन शाक्यलाई उनीहरुको साथमा रहेका बा. ६७ प ५८८९ र बा.५५ प २०८४ नम्बरका स्कुटरहरु चोरी गरी ल्याएको खुल्न आएको र अन्य स्कुटरहरु कुमार रेग्मीलाई बिक्री गरिसकेको खुल्न आए पश्चात थप अनुसन्धानको क्रममा कुमारको घरबाट बा.५१ प ९१०६ र बा.८२ प ६०७१ नम्बरका स्कुटरहरु समेत प्रहरीले फेला पारी बरामद गरेको छ ।
उनीहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।