neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • खानेपानी मन्त्रीद्वारा पनौतिमा प्रशोधित पानीको प्लान्ट निरीक्षण, खानेपानी संस्थानलाई मन्त्रीको निर्देशन ‘ आफ्नो क्षमता बढाएर बजारमा प्रतिस्पर्धा गर्नु’

खानेपानी मन्त्रीद्वारा पनौतिमा प्रशोधित पानीको प्लान्ट निरीक्षण, खानेपानी संस्थानलाई मन्त्रीको निर्देशन ‘ आफ्नो क्षमता बढाएर बजारमा प्रतिस्पर्धा गर्नु’

Nov 13th, 2019

काभ्रे, २७ कात्तिक 
खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्र प्लान्टको बुधबार निरीक्षण गर्नुभएको छ । संस्थानले आफैं लगानी गरेर प्रशोधित पानी उत्पादन गरी जार तथा बोतल मार्फत आम उपभोक्ता समक्ष पुर्याउने लक्ष्य लिई पनौति नगरपालिका क्षेत्रमा प्लान्टको स्थापना गरेको हो । उक्त प्लान्टको निरीक्षण गर्न खानेपानी मन्त्री मगर पनौति पुग्नुभएको हो ।

प्रशोधित पानीको प्लान्ट निरीक्षण गर्दै मन्त्री मगरले बजारमा प्रतिस्पर्धा गरेर संस्थानले गुणस्तरीय पानी आम उपभोक्ता माझ पुर्याउने गरी योजना बनाउन निर्देशन दिनुभयो । ‘संस्थानको यो पहिलो उत्पादन केन्द्र हो । अन्य स्थानीय तहहरुमा यसरी नै पानी प्रशोधन गर्ने प्लान्ट राख्ने गरी योजना बनाउन जरुरी छ ।’ उहाँले भन्नुभयो, ‘यो एउटा उदाहरण मात्र हो । अन्तर्रा्ष्ट्रिय बजारमा हाम्रा मिनरल वाटर निर्यात गर्न सक्ने गरी योजना बनाउनुपर्छ । संस्थानले काम गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्न सकोस् ।’

नेपालका विभिन्न ठाउँहरुमा यस्तै पानी प्रशोधन प्लान्टहरु कहाँ कहाँ राख्न सकिन्छ त्यस बारेमा सम्भावना खोजी गर्न मन्त्री मगरले संस्थानलाई निर्देशन दिनुभयो । उहाँले संस्थानलाई आफ्नो क्षमता अघि बढाउन निर्देशन समेत दिनुभयो । सगरमाथा लगायतका हिमालहरुबाट बग्ने पानीको प्रशोधन गरेर अन्तर्रा्ष्ट्रिय बजारमा बिक्री गर्ने सम्बन्धमा सम्भावनाको खोजी भईरहेको उहाँको भनाइ रहेको थियो ।

संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान अब खुला बजार प्रतिस्पर्धाका लागि तयार भईसकेको बताउनुभयो । महाप्रबन्धक प्रसादले पनौति जस्तै अन्य नगरपालिकाहरुमा समेत मिनरल वाटर प्लान्ट राख्ने तयारी भईरहेको जानकारी दिनुभयो । पनौति नगरपालिकाका नगर प्रमुख मेयर भीम न्यौपानले संस्थानलाई पानीको प्लान्ट क्षमता विस्तार गर्नका लागि आफूहरुले पुरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थानको उक्त प्लान्ट २०७४ भदौदेखि सञ्चालनमा आएको हो । यसको पानी उत्पादन क्षमता प्रति घण्टा २ हजार लिटर रहेको छ । संस्थानले यस प्लान्टबाट दैनिक ३८ हजारदेखि ४० हजार लिटर सम्म पानी उत्पादन गर्न सकिने जनाएको छ । अहिले दैनिक २ सय ६५ जार पानी उत्पादन हुँदै आएकोमा आगामी दिनमा यसको क्षमता विस्तार गरिने महाप्रबन्धक प्रसादको भनाइ छ । उत्पादनसँगै जारको संख्या बढाएर बजारमा प्रतिस्पर्धा गर्ने र बिक्री बढाउने रणनीति संस्थानले लिएको उहाँको भनाइ छ ।