काठमाडौँ, २५ कात्तिक (रासस)
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्नुहुने भएको छ ।
राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सि बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उहाँले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्नु हुनेछ । बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नु हुनेछ ।
राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नु हुनेछ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।