neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु

Nov 11th, 2019

जलेश्वर, २५ कात्तिक (रासस)

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका छोरा नौ वर्षीय राजकुमार मुखियालाई शनिबार साँझ जलेश्वर–२ मै रहेको नेपाल रेडक्रस सोसाइटी अगाडि सडकमा लु२त ७६९९ नंको ट्याक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा आइतबार बिहान ७ बजे उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
 
त्यस्तै आइतबार दिउँसो १ बजे जिल्लाको पिपरा गाउँपालिका– २ अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफलाई जलेश्वर नपा–२ स्थित बुद्धिजीविचोकमा बर्दिवासबाट बालुवा बोकेर आएको ना१क ९६८३ नंको टिपरले ठक्कर दिँदा दाँहिने खुट्टा नै शरीरबाट अलग हुने भएर उनी गम्भीर घाइते भएपछि उनलाई पनि जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुरमा अवस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा लगिएकामा आइतबार अबेर साँझ उनको पनि सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । यसरी महोत्तरीको जलेश्वरमा एकै दिन सवारी दुर्घटनामा परेका एक बालक र एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो ।