neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • आज रातिदेखि बडिकेदारको मेला शुरु हुँदै

आज रातिदेखि बडिकेदारको मेला शुरु हुँदै

Nov 10th, 2019

डोटी, २४ कात्तिक (रासस)

सुदूरपश्चिम प्रदेशका विभिन्न शक्ति पीठमध्येको एक बडिकेदारको जात्रा (मेला) आज आज रातिदेखि शुरु हुँदैछ । बडिकेदारको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । 

थारू समुदाय र भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट बडिकेदार आउने दर्शनार्थीको बिहीबारदेखि नै घुइँचो लागेको बडिकेदारका भराडी हर्कबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शनार्थी दुई/तीन दिनदेखि आउने क्रम शुरु भएको छ, बर्सेनि हजारौँ तीर्थालुको यहाँ भीड लाग्छ ।” यहाँबाट अपी र सैैपाल हिमाल देख्न सकिन्छ । बडिकेदारमा हरेक वर्ष दुई पटक मेला लाग्छ । फागुनमा महाशिवरात्रि तथा कात्तिकमा बैकुण्ठ चतुर्दशीमा मेला लाग्छ । 

शिवरात्रिमा भन्दा कात्तिकको बैकुण्ठ चतुर्दशीमा लाग्ने मेलामा दर्शनार्थीको बढी भीड हुने गरेको बडिकेदार मेला व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रयोदशीको राति र चतुर्दशीको दिउँसो बडिकेदारको दर्शन गर्न भारत र तराईबाट थारू समुदाय बढी सङ्ख्यामा आउने गरेको छ ।” डेउडा खेलले मेलामा झनै रौनकता छाउँछ ।