दमौली, २४ कात्तिक (रासस)
जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा शनिबार आयोजना गरेको घुम्ती शिविरबाट २१२ ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सर्वसाधारणलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको थियो । नागरिकता बनाउन सदरमुकाम दमौलीसम्म आउनुपर्ने बाध्यता रहेकाले सर्वसाधारणको सुविधाका लागि गाउँमा नै घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाले प्रशासन कार्यालयले स्थानीयस्तरमा नै आएर नागरिकता वितरण गरिदिँदा स्थानीयवासीलाई राहत मिलेको बताउनुभयो । प्रशासन कार्यालयले यसअघि पनि देवघाट गाउँपालिकामा दुईपटक घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिसकेको छ । कार्यालयले गत आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा समेत घुम्ती शिविरको आयोजना गरेको थियो ।