काठमाडौँ, २४ कात्तिक
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा लियोनेल मेसीले ह्याट्रिक गर्दा बार्सिलोनाले सेल्टा डी भिगोलाई ४-१ ले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल गरेका थिए ।
यता, सेल्टाको लागि भने लुकास ओलजाले एक गोल फर्काएका थिए । खेलमा २३औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।४२ औं मिनेटमा ओलजाले गोल गर्दै सेल्टालाई १–१ गोलको बराबरीमा ल्याए । तर पहिलो हाफको अतिरिक्त समयमा मेस्सीले अर्को गोल गर्दै खेल २–१ गोलको अग्रतामा पुर्याए । ४८औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गरेका थिए । मेस्सीले तेस्रो गोल पनि फ्रिकिकमै गरे । ८५औँ मिनेटमा सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोना ४–१ गोलले विजयी भएको हो ।
जितसँगै लिगमा बार्साको १२ खेलबाट २५ अंक छ भने २५ अंक नै भएपनि गोल अन्तरका कारण रियल मड्रिड दोश्रो स्थानमा रहेको छ।