neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित आरबिबि इम्पावरमेन्ट एकेडेमीको सुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित आरबिबि इम्पावरमेन्ट एकेडेमीको सुभारम्भ

Nov 9th, 2019

काठमाडौं, २३ कात्तिक
राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आरबिबि इम्पावरमेन्ट एकेडेमीमा प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने तालिम प्रदान गर्ने उद्धेश्यले शुक्रबारबाट शुभारम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयां नयां उपलब्धिलाई सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने बताए ।

पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कार्तिक १ गते बाट १५ गते सम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा  बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैंकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ ।

यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य तथा जब डाइनामिक्सका निर्देशक प्रयास राजउपाध्यायले मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सुस्मिता बैद्यले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु कमलेश ठाकुर, दिपकराज न्यौपाने, मार्स एडभरटाइजिङ्गका सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको र बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको बैंकले जनाएको छ ।