काठमाडौं, २१ कात्तिक
ठगी मुद्दाका फरार कसुरदार चितवन भरतपुर बस्ने काठमाडौं साङ्ला घर भएका ३२ वर्षीय रबिन्द्र अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ असोज ४ गतेको फैसलाले एक बर्ष कैद र २६ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई सजाय वेरुजु रही फरार भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
अधिकारीले काठमाडौं गोगंबुमा संचालक समितिका सचिव भै बचत तथा मुद्दती खातामा आकर्षक ब्याज दिन्छु भनी प्रचारप्रसार गरी बैकिङ्ग कारोवार संचालन गरेको थिए । अधिकारी लगायत अन्य संचालकहरुले सहकारीका सदस्य बाहेका व्यक्तिहरु समेतसँग नेपाल राष्ट्र बैंकको स्वीकृती नलिई निक्षेप संकलन तथा कर्जा प्रवाह गरेपछि निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी फरार भएका थिए । अधिकारीलाई जिल्ला अदालत चितवन मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।