नेपालगञ्ज, २० कात्तिक
गेट कलेजको भगिनी संस्था गेट भोकेसनलले विगत एक दशभन्दा लामो अवधिदेखि नेपालमा विभिन्न किसिमका व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको छ । अधिक नवीनतायुक्त तालिम कार्यक्रम (मोस्ट इनोभेटिभ ट्रेनिङ प्रोगाम) विधामा विश्वकै प्रतिष्ठित वल्र्ड हस्पिटालिटी अवार्ड पाइसकेको गेट भोकेसनलअन्तर्गत हालसम्म ३ हजारभन्दा बढीले विभिन्न आवधिक तालिम लिइसकेको संस्थाले जनाएको छ ।
होटल व्यवस्थापनको व्यावसायिक तालिमका क्षेत्रमा थप नवीनता सिर्जना गर्दै गेट भोकेसनलले पाँचतारे होटल सोल्टीसँग सहकार्य गरेको छ । सोल्टी वेस्टइन्ड प्रिमियरसँगको सहकार्यमा विगत दुई वर्षदेखि गेट भोकेसनले सञ्चालन गर्दै आएको आवधिक प्रशिक्षणको मंगलबार दीक्षान्त कार्यक्रम आयोजना गरिएकाे थियाे ।
विगत दुई वर्षको अवधिमा नेपालगञ्जमा सञ्चालित आवधिक तालिमहरूमा सहभागी १११ जना विद्यार्थी सो अवसरमा दीक्षित भएका थिए । नेपालमा पाँचतारे होटलमै ‘अन द जब ट्रेनिङ’ सुविधासहितको होटल व्यवस्थापनसम्बन्धी आवधिक तालिम दिइएको यो पहिलो पटक हो ।
गेट भोकेसनलका संस्थापक महाप्रबन्धक विवेक पौडलले नेपालमै यस प्रकारको साझेदारी पहिलो भएको बताउँदै यस्तो साझेदारीमा जनशक्ति उत्पादनको मोडललाई अन्य होटलहरूले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले यस्तो सफल प्रयोगलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजनासहित पोखरामा समेत तालिम कार्यक्रमहरू आरम्भ भइसकेको बताए ।
भेरी प्राविधिक शिक्षालयका सहायक प्रमुख पारश खड्काले व्यावसायिक शिक्षाले शिपमूलक जनशक्ति विकासमा योगदान दिने भएकाले यसलाई बढीभन्दा बढी उपयोगमा ल्याउने वातावरण बनाउनु पर्ने बताए । यस्तै, सोल्टी होटलका मानव संशाधन विभागका प्रमुख वृजेशकुमार गुप्ताले पाँचतारे होटल पनि शिक्षण–प्रशिक्षणका लागि उपयुक्त थलो हुनसक्छ भन्ने कुरा सोल्टी वेस्टइन्ड प्रिमियरमा गेट भोकेसनलको सहकार्यमा सञ्चालित तालिम कार्यक्रमहरूले पुष्टि गरेको बताए ।
कार्यक्रममा गेट कलेजका तर्फबाट ताराजंग थापा र सोल्टी वेस्टइन्ड प्रिमियरका तर्फबाट खम्बजंग शाहले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गरेका थिए ।