वेलिङ्टन, १७ कात्तिक (रासस/एएफपी)
न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ ।
यसअघि गत शुक्रबार भएको पहिलो टी२० खेलमा इङ्ल्यान्डले न्यूजील्यान्डलाई सात विकेटले पराजित गरेको थियो ।
आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । न्यूजील्यान्डका लागि मार्टिन गप्टिलले २८ बलमा ४१ रन तथा जिम्मी निशामले २२ बलमा ४२ रन बनाएका थिए । निशामले चार छक्का प्रहार गरेका थिए ।
जवाफमा इङ्ल्यान्डको टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । चार विकेटमा ९१ रन बनाएको इङ्ल्यान्डले १५५ रनमा सबै विकेट गुमाएको थियो । न्यूजील्यान्डका लागि मिचेल सान्ट्नरले २५ रन खर्चेर तीन विकेट तथा टिम साउदी, लकी फर्गुसन र ईस सोढीले दुई दुई विकेट लिएका थिए ।
अन्तिम टी २० खेल आगामी मंगलबार नेल्सनमा खेलिने छ ।