काठमाडौँ, १६ कात्तिक
रसुवामा निर्माण हुने २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । आयोजनामा अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी)को नेतृत्वमा ९ विदेशी बैंक तथा वित्तीय संस्थाले शुक्रबार ४५३ मिलियन डलर अर्थात ५१ अर्ब १८ करोड रुपैयाँ लगानीका लागि ऋण लगानी सम्झौता गरेका छन् ।
आयोजनामा विश्व बैंक अन्तर्गतको अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफस) ले १६ करोड १० लाख डलर ऋण लगानी गर्ने सम्झौता गरेको छ । त्यसैगरि कोरियाली निर्यात आयात (एक्जिम) बैंकले १०० मिलियन डलर र चीनको नेतृत्वमा स्थापित एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले ४० मिलियन अमेरिकी डलर लगानी गन भएको छ ।
एसियाली विकास बैंकको पनि ६० मिलियन डलरसहित कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंक र युकेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन(सीडीसी)ले पनि यसमा लगानी गर्दैछन् ।
६४ करोड ७४ लाख डलर अर्थात् ६४ अर्ब रुपैयाँभन्दा बढी लागत रहेको यो आयोजामा १९ अर्बको संस्थापक सेयर छ भने बाँकी लगानी ऋणस्वरुप जुटाइएको छ ।
प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट (एनडब्लूइडीसी)मा स्वपुँजीतर्फ कोरियाली सरकारी कम्पनी कोरिया साउथ इष्ट पावर लिमिटेडेको ५२ प्रतिशत, आईएफसीको १२ प्रतिशत, कोरियाली कम्पनी डालिम इष्डट्रिजको १६ प्रतिशत र क्यायोङ कन्स्ट्रक्सनको १० प्रतिशत सेयर रहने छ । त्यसैगरी स्वदेशी जेड पावर कल्सल्टसहित स्थानीयवासीको १० प्रतिशत सेयर लगानी रहनेछ । लगानी भित्रिएको आधारमा भने यो अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानीको परियोजना हो ।
प्रवर्धक कम्पनीले २००७ मा यो आयोजनाको लाइसेन्स लिएको थियो । गत वर्षको चैतमा नै सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि लगानीको अभावमा यो आयोजना अहिलेसम्म अघि बढ्न सकेको थिएन । अबको केहि महिनापछि निर्माण सुरु हुने यो आयोजना २०२४ को मार्चमा निर्माण सम्पन्न गर्ने प्रवर्धकको योजना छ।