पोखरा, १४ कात्तिक (रासस)
पोखरा उद्योग वाणिज्य सङ्घले पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा घोषित ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका साथ आजदेखि मर्दी हिमाल तर्फको पदयात्रा कार्यक्रमसहित अभियान थालिएको हो ।
भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश र सङ्घीय सरकारद्वारा घोषित भ्रमण वर्षको प्रचार गर्न सङ्घले ‘गन्तव्य मर्दी हिमाल’ अभियान तय गरेको पदयात्रा टोलीका नेता एवं सङ्घका अध्यक्ष दामु अधिकारीले बताउनुभयो ।
पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रचारलाई सङ्घले पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले सरकारले घोषणा गरेका प्रवद्र्धनात्मक कार्यक्रमलाई सघाउन आफूहरू तयार रहेको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले अघि सारेको ‘बिदा पर्यटन’को अवधारणाका साथै अन्य प्रवद्र्धनात्मक कार्यक्रम लगायतमा आफूहरू हातेमालो गर्न तयार रहेको बताउँनुभयो । उहाँले भन्नुभयो,“देश र विदेशमा आफूहरूको ठूलो संयन्त्र भएकोले सहकार्य गर्दै अघि बढाउने दायित्व सरकारको हो ।”भ्रमण दलमा सङ्घका अध्यक्ष अधिकारीसहित कार्यसमितिका सदस्य तथा कर्मचारी सहभागी छन् ।
चार दिने पदयात्राको क्रममा टोली चार हजार ६०० सय मिटर उचाईको मर्दी हिमाल आधारशिविर पुग्ने सङ्घका कार्यसमिति सदस्य कीर्तिबल्लभ त्रिपाठीले जानकारी दिनुभयो ।