neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘अँध्यारोमाथि विजय पाउने प्रेरणा प्राप्त होस्’

‘अँध्यारोमाथि विजय पाउने प्रेरणा प्राप्त होस्’

Oct 29th, 2019

काठमाडौँ, १२ कात्तिक (रासस)

 नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । 
नेपालीहरुको महान् चाड तिहारको पाँचौ दिन भाइटिकाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उहाँले सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । 

दिपावलीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सभापति देउवाले “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक वेषभूषासहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहीत बन्धुत्व भावले विविधताका बीचमा अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ,” भन्नुभएको छ । 
     
तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।