neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • मेस्सीको कीर्तिमान गोल:बार्सिलोनाको जित

मेस्सीको कीर्तिमान गोल:बार्सिलोनाको जित

Oct 24th, 2019

काठमाडौं,७ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले स्लाभिया प्रागलाई पराजित गरेको छ।

च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’ को खेलमा बार्सिलोनाले बुधबार राति उसैको घरेलु मैदानमा स्लावियालाई २–१ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको तेस्रो मिनेटमै सुरुवाती गोल गरेका थिए ।यस गोलसँगै मेस्सी च्याम्पियन्स लिग फुटबलमा लगातार १५औं सिजनसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

पहिलो हाफसम्म मेस्सीकै गोलको कारण बार्सिलोनाले १–० गोलको अग्रता बनाएको थियो । तर खेलको ५० औं मिनेटमा जान बोरिलले गोल गर्दै स्लावियालाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ५७ औं मिनेटमा पिटर ओलायिन्काले आत्मघाती गोल गरेपछि बार्सिलोना २–१ गोलअन्तरले अघि रह्यो । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि त्यही आत्मघाती गोलनै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।

जितसँगै तीन खेलबाट सात अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ । 

त्यस्तै, समूह ‘एफ’अन्तर्गत नै भएको अर्को खेलमा इन्टर मिलानले बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । बोरुसिया डर्टमन्डलाई २–० गोलअन्तरले पराजित गर्ने क्रममा पहिलो हाफमा र दोस्रो हाफमा समान १–१ गोल गर्दै इन्टर मिलानले जित हात पारेको हो ।