neapl investment mega bank

विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

Oct 24th, 2019

काभ्रेपलाञ्चोक, ७ कात्तिक (रासस)

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । “विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ ग¥यौँ”, उहाँले भन्नुभयो । ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ । 

यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा काभ्रेपलाञ्चोकबाट विसं २०७५ चैत ९ गते बिहान विप्लव समूहका मध्य कमाण्डर सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ नेता/कार्यकर्तालाई काभे्रपलाञ्चोक र ललितपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट गाडीमा काठमाडौँतर्फ गइरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ‘विप्लव’ समूहका मध्य कमाण्डर ओली, धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जिव कार्की, लोकेन्द्र खड्का थिए ।
 
यस्तै, चैत ६ गते पनि काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव समूहका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षका शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षकै विशाल तामाङलाई पनि पक्राउ गरेको थियो ।