neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विदेशबाट फर्केर गाउँमै उद्यम,उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै

विदेशबाट फर्केर गाउँमै उद्यम,उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै

Oct 21st, 2019

बागलुङ, ४ कात्तिक (रासस)

भारतमा ३५ वर्षे जागीरे जीवन बिताउनुभएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ । शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ ।

तीन वर्षअघि गाउँ फर्कनुभएका शर्माको दैनिकी पशुपक्षीको स्याहारसुसार र खेतीपातीमा बित्छ । कुनै बेला उजाड बनेको घरगोठ, खेतबारी उहाँ आएपछि हराभरा भएको छ । परम्परागत कृषिले व्यावसायिक रुप पाएको छ । 

एक वर्षअघि ‘ऋमा पोल्ट्री फार्म’ खोलेर शर्माले व्यावसायिक कुखुरापालन शुरु गर्नुभएको हो । ‘फार्म’मा ‘लेयर्स’ जातका डेढ सय कुखुरा छन् । गाउँमा ताजा अण्डा उत्पादन गर्ने र बेच्ने उद्देश्यले कुखुरापालन शुरु गरेको उहाँको भनाइ थियो ।

कुखुरापालनमा रु छ लाख बढी लगानी भएको छ । दुई आधुनिक खोर निर्माणमा मात्र रु पाँच लाख खर्च भएको शर्माले बताउनुभयो । “दैनिक एक सय ३० देखि ४० सम्म अण्डा उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “एउटा अण्डा १२ रुपैयाँ ७० पैसा र क्रेट तीन सय ८० मा बिक्री भइरहेको छ ।” अण्डाबाट मासिक रु। ५५ हजारसम्म कारोबार हुन्छ ।

खर्च कटाएर महीनामा २०/२५ हजारसम्म नाफा निस्कने गरेको छ । कुखुरापालन व्यवसायलाई थप विस्तार गर्ने उहाँको योजना छ । “सबैले चिसो ठाउँमा कुखुरापालन हुँदैन भन्थे, मलाई गर्छ भनेर पत्याएका थिएनन्”, उहाँले भन्नुभयो, “तर गरेपछि सम्भव हुँदो रहेछ, अहिले सबैले राम्रो काम ग¥र्यो भनेर प्रशंसा गर्छन् ।”

कुखुरालाई चाहिने तापक्रम व्यवस्थापनका लागि आधुनिक तरिकाबाट खोर निर्माण गरिएको शर्माको भनाइ छ । ‘फार्म’मा उत्पादित अण्डा गाउँमै खपत हुने गरेको छ । शर्माले कुखुरासँगै बाख्रापालनलाई पनि अघि बढाउनुभएको छ । अहिले उहाँकोमा माउ र पाठापाठी गरी सात बाख्रा छन् ।

बोका, खसी बिक्रीबाट पनि राम्रै आम्दानी हुने गरेको छ । गोठमा भैँसी र गोरु पनि छ । परिवारलाई चाहिने तरकारी बाहिर किन्नुपर्दैन, घरमै फल्छ । खेतबारीमा अन्नबालीको काम पनि शर्माले सम्हाल्दै आउनुभएको छ । उहाँ जागिरमा विदेश हुँदा घरमा कोही पनि बस्दैनथे । श्रीमती रत्नादेवी शर्मा जागीरे र व्यवसायी छोराबुहारीसँग बागलुङ सदरमुकाम बस्नुहुन्थ्यो । छोरीको भारतमै बिहे भइसकेको थियो ।

शर्मा नेपाल फर्केपछि श्रीमती रत्नादेवी पनि गाउँ फर्कनुभयो । दुवैजना मिलेर व्यावसायिक कृषि पेशातिर लागे । “जागीरबाट निस्केपछि छोराबुहारीले शहरतिरै बस्ने योजना बनाएका थिए”, शर्माले भन्नुभयो, “तर, मलाई गाउँ नै फर्कन मन लाग्यो, कृषितिरै मन गयो ।” शर्माकी आमा पनि अहिले छोराबुहारीसँगै गाउँमै रमाएर बस्नुभएको छ । आफ्नै गाउँघरमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण शर्मा बन्नुभएको छ । 

२२ वर्षको उमेरमा कामको खोजीमा भारत पुग्नुभएका उहाँले २५ वर्ष हैदरबादको टायर कम्पनीमा र १० वर्ष बाहिर काम गर्नुभएको थियो । बुबा घर फर्केर कृषिमा लागेपछि पेशाले स्वास्थ्यकर्मी छोरा ऋषिरामले पनि ‘फार्म’ व्यवस्थापनमा सघाउँदै आउनुभएको छ । 

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi