काठमाडौँ, ४ कात्तिक
महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने तीन जनालाई नोट बनाउन प्रयोग हुने बिभिन्न समानहरू सहित पक्राउ गरेको छ । प्रहरीले आज बिहान ०५ः३० बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बिपुल चोकबाट दोलखाका राजन परियार, सोही ठाउँका सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेको छ । नयाँबस्ती बिपुल चोक स्थित एक घरमा कोठा भाडामा लिई नक्कली नोटहरू छापीरहेको अबस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली नोट एक हजार दरका ३४ थान (३४ हजार), बिभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५, नोट बनाउने कागज ठुलो १ सय ४२ थान र सानो कागज १ सय ४९ थान बरामद गरेको छ । यसै गरी रंगिन फोटोकपी मेसिन १ थान, कम्प्युटर ऋएग् २ थान सोको मनिटर १ थान, हिटर १ थान, क्यामेरा १ थान, कैची ४ थान, ग्लुस्टिक ७ थान समेत बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।