neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • सामाजिक सुरक्षा कोषमा ८० हजार श्रमिक र ५ हजार कम्पनी मात्र

सामाजिक सुरक्षा कोषमा ८० हजार श्रमिक र ५ हजार कम्पनी मात्र

Oct 15th, 2019

काठमाडौं, २८ असोज 
जोडिए सामाजिक सुरक्षा कोषमा  जोडिन धेरैजसो रोजगारदाता कम्पनि र श्रमिकले अनाकानी गरेका छन् । सरकारले धोषणा गरेको सो कोषमा  करीब ८० हजार श्रमिकले मात्र आबद्धता जनाएका छन् । अनलाइन सेवामार्फत असोज दोस्रो सातासम्म पाँच हजार १ सय ७० रोजगारदाता कम्पनी कोषमा दर्ता भई ७९ हजार ६ सय ५५ श्रमिकलाई दर्ता गरिएको छ ।

कोषमा दर्ता भएपछि आधारभूत तलबको ३१ प्रतिशत तलबकट्टी गर्नुपर्ने व्यवस्था छ, कर्मचारी तथा आश्रित परिवारले योगदानमा आधारित पेन्सन पाउनेछन् । आश्रित परिवार भनेको योगदानकर्ताको एकासगोलमा बस्ने पति वा पत्नी, छोरा, छोरीबुहारी, बाबुआमा, सासू वा ससुरा, नाती वा नातिनी हुने व्यवस्था छ ।

कोषमा दर्ता भएका कम्पनीले श्रमिकको कट्टी गरेको रकम तीन करोड चार लाख रुपैयाँ सङ्कलन भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । निजी सङ्गठित क्षेत्रका कम्पनीले कोषमा आफ्नो संस्था सूचीकृत गरेपछि योगदानकर्ताले पहिलो किस्ता कोषमा बुझाएर दुर्घटना भई काम गर्न अशक्त भएमा सम्बन्धित कर्मचारीले कट्टी गरेको रकमको निश्चित प्रतिशत जीवनभर पेन्सनका रुपमा प्राप्त गर्नसक्ने व्यवस्था छ । ‘योगदान’ भनेको सामाजिक सुरक्षा योजनाअन्तर्गतका सुविधा प्राप्त गर्न श्रमिक र रोजगारदाताले नियमितरुपमा कोषमा जम्मा गरेको वा गर्नुपर्ने रकमलाई सम्झनुपर्दछ ।

अनलाइन सेवामार्फत कम्पनी र श्रमिक दर्ता हुने व्यवस्था गरिएकाले यसमा रोजगारदाता कम्पनीका साथै कर्मचारी आबद्ध हुनेक्रम बढ्दै गएको कोषले जनाएको छ । आगामी दिनमा सातै प्रदेशमा कोषका कार्यालय विस्तार गरिनेछ ।

कार्यक्रमबाट उठ्यो ७२ लाख भन्दा बढी
यस कार्यक्रममा सहभागी श्रमिकहरु कोषमा आवद्ध भएपछि हालसम्म ७२ लाख रुपैयाँ संकलन भएको कोषले जानकारी दिएको छ । सुचीकरणका लागि तोकिएको समयसिमा नजिकिदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य बढ्दै गएको सामाजिक सुरक्षा कोषको भनाइ छ ।

योजनामा सहभागी हुन श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुुरक्षा कोषमा जम्मा गर्नुपर्छ । रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ । रकम जम्मा गरेपश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाअनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा योजना निजी क्षेत्रका कामदारका लागि ल्याइएको हो । रोजगारदाता तथा कामदारलाई कोषमा सूचीकृत हुन असोज मसान्तसम्म म्याद दिइएको छ ।

कम्पनी नौ लाख, कोषमा पुग्ने पाँच हजार मात्र
तथ्यांक विभागका अनुसार नेपालमा दर्ता भएका प्रतिष्ठानहरु ९ लाख २३ हजार ३ सय ५६ वटा छन् । यसमध्ये कोषमा सहभागी भएका प्रतिष्ठानहरुको मुस्किलले पाँचहजार मात्र छन् ।
नेपालमा स्वरोजगार प्रतिष्ठानहरु (अरुलाई रोजगारी नदिने) मात्रै ६ लाख ७० हजार भन्दा बढी छन् । बाँकी करिब ३ लाख हाराहारीमा १० जना भन्दा बढी कर्मचारीलाई रोजगारी दिने संस्था छन् । १ हजार भन्दा बढीलाई रोजगारी दिनेको संख्या ५३ मात्र छ ।

यस्ता कम्पनिले दिएका थिए निवेदन
कोषमा चौधरी गु्रप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जि फोर एस सहित १ सय १७ वटा आउटसोर्सिङ कम्पनीहरु, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, नर्भिक अस्पताल जस्ता संस्थाले निवेदन थिएका थिए । यसैगरी गोल्डस्टार सुज, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर ग्रुप, यति डिष्टीलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज ( विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाइ आउट सोसिंङ गर्ने कम्पनी), दराज डटकम जस्ता ठूला रोजगारदाताहरु पनि आएका छन् ।