काठमाडौं, असोज २८
ललितपुरको ललितपुर महानगरपालिका १७ मंगलबजार डेरा गरी बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका ६ घर भएका २१ वर्षीय सुन्दर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई आफ्नो कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका ८ बस्ने २७ वर्षीय सत्य सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सदाले ती किशोरीलाई बिवाह गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी गत २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।