neapl investment mega bank
  • गृहपृष्ठ
  • मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु

मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु

Oct 15th, 2019

काठमाडौँ, २८ असोज (रासस)

नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भन्नुभयो । 

पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ । यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो । सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ अर्थात् असोज ६ गते नै मनसुन बाहिरिने औसत समय हो । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्नै मौसमविद्को भनाइ रहेको छ । 

सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहने बताइएको छ । तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो हुने गरेको छ । महाशाखाले अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।