neapl investment mega bank
  • गृहपृष्ठ
  • जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

Oct 15th, 2019

टोकियो.२८ असोज (रासस/सिन्ह्वा)

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । 
जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको र अझै बढ्न सक्ने आशङ्का गरिएको छ  । 

खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको जनाएका छन् । 

 आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्रलाई असर गरिरहेको छ, जापानी उद्योग मन्त्री ईशु सुगवाराले ३४ हजार व्यक्ति बिजुलीविना बसिरेहका पुष्टि गर्नु भएको छ । 

   सुगवाराका अनुसार आँधीले कडा प्रभावित चिवा प्रान्तमा १८ हजार घर बिजुलीविहीन छन, नागानो प्रान्तका १२,००० घर बिजुलीविहीन रहेका छन् । 

सबै घरहरु सुरक्षित रूपमा बिजुली फिर्ता हुनको लागि एक हप्तासम्म लाग्न सक्ने बताइएको छ । तेह्र वटा प्रान्तको  १ लाख ३३ हजार घरहरुका  पानी आपूर्ति बन्द भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विनासकारी आँधीपछि अझै पनि बेपत्ता रहेका व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ  ।
 
आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । 

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन् ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।