neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च छ : राष्ट्रपति भण्डारी

नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च छ : राष्ट्रपति भण्डारी

Oct 13th, 2019

काठमाडौँ, २६ असोज (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउनुभएको छ ।  आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा हिजो साँझ यहाँ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उहाँले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले भन्नुभयो, “पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ ।”  उहाँले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गर्नुभयो । 

नेपाललाई भूजडित बनाउन चीनले सघाउने 

प्रत्युत्तरमा राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो ।  उहाँले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताउनुभयो । नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उहाँले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गर्नुभयो ।

“हामीबीचको आधा शताब्दीभन्दा बढीको  सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ”,  उहाँले भन्नुभयो ।  चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।” 

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने  र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गर्नुभयो । विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उहाँले व्यक्त गर्नुभयो । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरुमा विचार आदानप्रदान गर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीको मन्तव्यको पूर्ण विवरण पछिल्लो  बुलेटिनमा आउने छ ।