neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • बेरोजगार युवालाई स्वरोजगार बनाउन तालीम

बेरोजगार युवालाई स्वरोजगार बनाउन तालीम

Oct 12th, 2019

खोटाङ, १ जेठ    
केदार मगर  

 बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिले आयोजना गरेको सवारी चालक तालीममा पहिलो चरणअन्तर्गत हलुका सवारीसाधन चलाउन सिकाइने जनाइएको छ । तालीममा सहभागीलाई दक्ष चालक बनाउन ह्याभी (ठूला सवारी) चलाउन सक्नेगरी अर्को चरणको तालीमसमेत दिइने गाउँपालिकाले जनाएको छ ।     
  तालीममा गाउँपालिकाका छ वडाका पाँच÷पाँचका दरले १८ वर्षदेखि ३७ वर्ष उमेर समूहका युवाको सहभागिता रहेको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । “रोजगारीको अभावमा युवाशक्ति विदेशिनेक्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “बढ्दो युवाशक्ति विदेशिनेक्रमलाई न्यूनीकरण गर्दै आफ्नै देशमा स्वरोजगार बनाउन तालीमको व्यवस्था गरिएको हो ।”     
 रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालन गरिएको तालीममा हलुका सवारीसाधनअन्तर्गत जिप हाँक्ने तालीम सञ्चालन भइरहेको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायतलाई समेत स्वरोजगारमूलक तालीमको व्यवस्था गरेको छ । महिलाका लागि ढाका बुनाइ तथा सिलाइ÷कटाइ, दलितका लागि आरन व्यवस्थापन तथा आधुनिक औजार निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि उनीहरुको क्षमताअनुसार तालीमको व्यवस्था गरिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । जीवन निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउनसमेत गाउँपालिका लागिपरेको जनाइएको छ ।    रासस