neapl investment mega bank neapl investment mega bank

‘ट्राउट’ माछाबाट मालामाल दाजुभाइ

Oct 8th, 2019

देवराज सुवेदी
मेलम्ची, १८ असोज (रासस)

 हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । विसं २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र असफलता भोग्नुप¥यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एक वर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो ।

विस्तारै माछापालनमा ‘सिक्दै, गर्दै’ को पाँच वर्षको अनुभवपछि भण्डारी दाजुभाइ अब्बल बनिसकेका छन् । माछापालनबाट रु ५० लाखसम्म आम्दानी गरिरहेका उनीहरुले माछापालनका लागि भण्डारी ‘रेन्बो ट्राउट रिर्सच सेन्टर’ नै खोलिसकेका छन् । “यहाँ वार्षिक दुई लाख भुरा उत्पादन हुन्छ, माछापालनबारे सिक्न आउने गर्छन्’ उत्तममणि भण्डारीले भन्नुभयो, “बजारयोग्य माछाका लागि दुई वर्षको समय कुर्नुपर्ने हुन्छ ।” पाँच रोपनी जग्गा पोखरी बनाएर गरिएको माछापालनमा वार्षिक १० टनसम्म माछा उत्पादन हुने गरेको भण्डारीले बताउनुभयो ।

“गएको वर्ष ७० लाख बराबरको माछा बिक्री गरियो”, उत्तममणिले भन्नुभयो । शुरु गर्दा भालेपोथी छनोट, अण्डा निर्चोने, ‘स्पोन’ सङ्कलनजस्ता धेरै चरण पार गरिसकेपछि मात्रै माछालाई सुरक्षित भुरा बनाउन सकिने भण्डारीले बताउनुभयो ।

“माछा मर्नुको प्रमुख कारण ढुसी र अयोग्य पानीले गर्दा हो”, उहाँले भन्नुभयो । त्यसैले प्लान फिल्टर राखेर माछालाई स्वथ्यकर राखिन्छ । ‘एका’, ‘एभिलेन्स,’ ‘फिङ्गरलेन्स’ हँुदै एउटा अण्डारुपी माछालाई प्वाँखले फिट्ने गरिन्छ । दुई, हप्तामा अण्डा निचोरिसकेपछि केलाएर राखिन्छ । ‘आइडेग’ र ढुसीलाई पन्छाएर तीन हप्तापिच्छै जाँच गरेर बल्ल १२÷१८ महीनाको कुराइपछि माछाले भुराको रुप लिन्छ ।

“प्रत्येक कात्तिक महीनामा सूचि बनाएर काम गर्ने गर्छौं”, किउलमा दुई वर्षदेखि ‘ट्राउट’ माछापालन गरिरहेकी माया तामाङले भन्नुभयो । परिपक्व भएका माछा र अन्यलाई गणनात्मकरुपमा अलग छुट्याइने गरिएको उहाँले भन्नुभयो, “यहाँ उत्पादित माछा यहीका रिसोर्ट, होटेलदेखि राजधानीसम्म पुग्ने गर्छ ।” माछाबाट वार्षिक रु ३० लाख आम्दानी हुने भएपछि उत्साहकासाथ जुटिरहेको मायाको भनाइ थियो ।

माछालाई स्वस्थ्य राख्नका लागि नूनपानीको घोल बनाएर खुवाइने गरिएको छ । जसले बजारमा लैजान नबनेसम्म फुर्तिलो बनाइराखोस् भन्ने लक्ष्य हुन्छ । ट्राउट माछाको माग बजारमा सधँै बढिरहने भएपछि भण्डारी र मायाजस्ता उद्यमी हेलम्बुभर भेटिन थालेका छन् । अन्यभन्दा राम्रो आम्दानी हुने भएपछि माछापालनप्रति कृषकको आकर्षण बढ्दो छ ।

जिल्लाको भोटेकोशी गाउँपालिकाको तातोपानीदेखि हेलम्बु, मेलम्ची नगरक्षेत्रमा व्यावसायिकरुपमा ‘रेन्बो ट्राउट’ माछापालन हुने गरेको छ । जिल्लाभर १० वटा ट्राउट माछा फार्म रहेको र त्यसले वार्षिक १६ टनसम्म माछा उत्पादन गर्ने गरेको तथ्याङ्क छ  ।