neapl investment mega bank
  • गृहपृष्ठ
  • २ महिनामै बैकिङ क्षेत्रमा ६१ अर्ब तरलता घट्यो, असोजमै देखियो तरलता अभाव

२ महिनामै बैकिङ क्षेत्रमा ६१ अर्ब तरलता घट्यो, असोजमै देखियो तरलता अभाव

Sep 27th, 2019

काठमाडौं, १० असोज 
चालु आर्थिक वर्षको दुई महिनामै ६१ अर्ब तरलता घटेको छ । असार महिनाको अन्त्यमा ९६ अर्ब रहेको तरलता रहेकामा अहिले ३५ अर्बमा संकुचित भएको छ । असोज महिनामै तरलता अभाव देखिन थालेको छ । साउन सुरु भएसँगै बैंकहरुले आफ्नो लगानी ह्वात्तै बढाएका छन् । तर लगानी बढाए अनुसार उनिहरुले निक्षेप संकलन भने गर्न सकेका छैनन् । जसका कारण अहिले नै बजारमा तरलता अभाव देखिन थालेको छ । लगानीकर्ताहरुले अहिले बैंकबाट ऋण नै पाउन छाडेको गुनासो गर्न थालेका छन् ।

असारको अन्त्यमा नेपालका २८ वटा वाणिज्य बैंकहरुमा २८ खर्ब ७८ अर्ब बराबरको   निक्षेप रहेको थियो । तर त्यो निक्षेप साउनको अन्त्यसम्ममा आउदा २३ अर्बले घटेर २८ खर्ब ५५ अर्बमा सिमित भयो । यता कर्जा प्रवाह भने बैंकहरुले एक महिनामै ९ अर्बले बढाए । यसबाटै देखिन्छ कि आर्थिक वर्षको सुरुवात देखिनै निक्षेपमा संकुचन र कर्जा बिस्तार भयो ।

 बैंकहरुले कर्जामा आक्रामक विस्तार गरेका कारण अहिले बजारमा तरलता अभाव देखिएको छ । तर उनिहरुले ग्राहकबाट संकलन गर्ने निक्षेपमा भने बृद्धि गर्न सकेका छैनन् ।   यसरी बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुन लागेपछि अहिले लगानीकर्ताले बैंकबाट ऋण नै नपाउने स्थिती सिर्जना भएको छ ।

सरकारले बिकास निर्माणका कामहरुको भुक्तानी गरेपछि असारमा मात्रै बैंकिङ प्रणालीमा १ खर्ब १९ अर्ब निक्षेप बढ्यो । बैंकहरुले असारमा कर्जा लगानीमा केहि कडाई गरेका कारण प्रणालीमा असारमा तरलता सहज नै देखियो । तर असारमा रोकिएका कर्जाहरु साउन देखि भटाभट जान सुरु गर्याे । जसले गर्दा असोज महिनाको सुरुवातमै बजारमा तरलता अभाव देखियो । 

तरलता व्यवस्थापनका लागि बैंकहरुले एक आपसमा ऋण लिनेदिने गर्छन् । जसको ब्याजदर ५ प्रतिशतभन्दा माथि जानुलाई राम्रो मानिदैन अहिलेनै यस्तो ब्याजदर ४ दशमलव ५ प्रतिशत पुगेको छ । जुन असारमा १ प्रतिशत थियो । यसले पनि बजारमा तरलता अभाव सिर्जना भएको प्रमाणित गर्छ ।