neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पोर्चुगलका चोकचोकमा ‘रेशम फिरिरी…’

Sep 16th, 2019

भगवान् गिरी,
 भदौ, ३० लिस्बन

“रेशम फिरिरी, रेशम फिरिरी
 उडेर जाऊँ कि डाँडामा भञ्ज्याङ रेशम फिरिरी”

झण्डै आधा शताब्दीअघि बुद्धि परियारको शब्द र लय सङ्कलनमा तयार पारिएको गीत  नेपालीभन्दा  विदेशी मनमा बढी  चिरपरिचित छ । यो गीत परियारको व्यक्तिगत  परिचय मात्र दिएन, परदेश र परदेशीहरुमा नेपाली गीतसङ्गीतको राष्ट्रिय  परिचय नै बन्यो । आजभोलि यस गीतको धून र शब्दले युरोपेली मुलुक पोर्चुगलको सडक र चोकमा दिनहुँ स्थान पाएको छ । 

झापा धर्मपुर घर भई  हाल  पोर्चुगल बस्दै आउनुभएका  दिलसाङ लामा लिस्बनको व्यस्त र सधैंँ पर्यटकको  घुइँचो लाग्ने आन्जुस, मार्तिमुनिज, कास्काइस जस्ता ठाउँमा एकैसाथ  घाँटीमा गितारको फिता,  मुखमा बेन्जु बाजाबाट रेशम फिरिरीका साथै  ‘यो नेपाली शिर उचाली’ लगायत नारायणगोपाल, प्रेमध्वज प्रधान, धर्मराज थापालगायत विभिन्न सष्टाका कालजयी गीत, धुन र शब्द पस्कने गर्नुहुन्छ । राष्ट्रिय  भावनाले ओतप्रोत गीत उहाँको पहिलो प्राथमिकतामा छन्  ।

झमक्क साँझ शुरु हुनै लाग्दा युरोपको एउटा अति व्यस्त शहरमा  आफ्नो काम सकेर घर फर्किएका वा बासस्थान दौडमा रहेकाहरु एकछिन टक्क बाध्य बन्छन् । लामा आफ्नै सुरमा मन्त्रमुग्ध बनाउने गरी  गितारको धून निकाल्नुहुन्छ  र रेशम फिरिरी शुरु गर्नुहुन्छ ।  जब मानिसहरु  उहाँको कला र गलाको जादुले लठ्ठ पर्छन् अनि खुशी हुँदै  प्रोत्साहनस्वरुप युरोमा सहयोग  दिने गर्छन् र पोर्चुगिसमा भन्छन् ‘मुइतो बोउँ’ (धेरै राम्रो) । दैनिक दुईतीन घण्टा गीत र धून बजाउँदा करीब ५० युरो( नेपाली झण्डै रु छ हजार ) आम्दानी हुने गायक एवं सङ्गीतकार लामा  बताउनुहुन्छ । 

 “परिवारबाट टाढा हुँदा पनि आफूलाई बाँच्न र रम्न यही गीतसङ्गीतले सिकायो, जहाँ पुगे पनि यो छोड्न सकिएन ।” सन् २०१७ मा पोर्चुगल आउनुभएका लामाको  अहिलेसम्म पोर्चुगलको अस्थायी बसोबास अनुमतिपत्रसमेत  बनेको छैन । “परिवारको सम्झना र  अत्यासले निकै सताउने भएकाले  गीत र सङ्गीत नै मन बुझाउने र एक्लोपन हटाउने औषधि जस्तै  भएको छ”, उहाँले भन्नुभयो । विसं २०५२ देखि गीतसङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएका लामालाई  सानो उमेरमा नै बुबाआमाको मुत्यु भएपछि पारिवारिक समस्याले  आफ्नो गीतसङ्गीतको उद्देश्य पूरा नसकेको  पीडा महसुस भइरहेको छ ।

गीतसङ्गीत क्षेत्रमा चर्चाको शिखरमा पुग्ने सपना देख्नुभएका उहाँ गीत रेकर्डिङ गरेर एल्बम निकाल्न लाग्ने झण्डै रु दुई लाख आफ्नो हैसियत  नहुँदा त्यो सपना अहिलेसम्म अधुरै रहेको बताउनुहुन्छ । “डाक्टर पाइलट  ब्याण्डका क्रान्ति  आलेसंँग  मिलेर साँस्कृतिक कार्यक्रम गर्दै समूहमा हिँडे पनि आर्थिक स्थिति निकै कमजोर  भएकाले चुल्हो  बाल्नको लागि बिदेशिनु पर्यो । केही पैसा  कमाउने, सक्षम  हुने र सङ्गीत क्षेत्रमा भविष्य  बनाउने सुन्दर सपना बुनेर सन्  २००७ मा कतार वैदेशिक रोजगार सिलसिलामा पुगेंँ, गीतसङ्गीतलाई भुल्न सक्ने अवस्था र मनमष्तिष्क थिएन, त्यसैले कामको फुर्सदमा  समूह जम्मा गर्ने र गीत गाउने गरेँ । ”

गीतसङ्गीतमा नै लाग्ने सोचका साथ उहाँ सन् २०१० नेपाल फर्कनुभयो । पारिवारिक समस्या ज्यूकात्यूँ थियोे ।  परिवारको सहयोग र साथ पनि रहेन, उहाँ  भारत जानुभयो ।  एक वर्षको बसाइपछि पुनः नेपाल फर्कनुभयो र लगत्तै  साउदी अरबमा  वैदेशिक रोजगारका लागि पुग्नुभयो । चार वर्षसम्म साउदीमा बिताएपछि  फेरि  फर्किएर पुरानै कर्ममा लागी गितार बोक्नुभयो । 

उहाँले फेरि युरोपको सपना देख्नुभयो  र सन् २०१७ मा पोर्चुगल आइपुग्नुभयो ।  “ पोर्चुगल आउन रु छ लाख जति  खर्च भयो, अहिले पोर्चुगलको अस्थायी बसोबास अनुमतिपत्रका लागि सङ्घर्ष गर्दैछु”, लामाले भन्नु भयो ।  उहाँ  बिहान  ११ बजेदेखि रेस्टुरेन्टमा काम गरी सकिएपछि थाकेको भए पनि गितार बोकेर आफ्नो गायन प्रस्तुत  गर्न पुग्नुहुन्छ । 

उहाँका लागि सङ्गीत नशा बन्यो, ठूल्ठूला स्टेजमा स्थान पाइँदैन, त्यसैले सडकमा गीत गाएर मन प्रफुल्ल पार्नुहुन्छ  ।  “म  नेपाली गीत मात्रै गाउँछु, विदेशी कर्म भूमिमा  पनि आफ्नो जन्मभूमि र मातृभाषाको जगेर्ना गर्न हरदम लागिपरेको  छु” ,लामाको दृढ विश्वास देखिन्छ । उहाँले उहाँको गीत र सङ्गीतमा बढो चाख दिएर विदेशीले सुन्ने र  नाच्ने गरेका छन् ।  अझ पोर्चुगलमा नेपालीलाई माया  गर्ने मान्छे भनेर चिनिने र नेपाली समुदायका प्रिय पात्र  भिक्टोर बाजे उहाँको नेपाली गीतमा छमछम नाच्दा उहाँको झन् बलियो आत्मविश्वास बढेको छ । 

लामाले आफ्नो पहिलो गीत “उकाली ओराली धनकुटा बजार… ” रेकर्डिङ गर्नुभएको थियो ।  निकट भविष्यमा आफ्नो उद्देश्य पूरा गर्ने उहाँको ठूलो सपना जीवितै छ । सन् २०२०  भित्र आफ्नी श्रीमती र छोरालाई पोर्चुगल भित्र्याएर आफ्नो गीतसङ्गीतको यात्रामा पोर्चुगलको नेपाली समुदायलाई पनि ल्याउने सोच उहाँको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi