neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वाधारको विकासबाटै आर्थिक वृद्धि सम्भव : डा. बाबुराम भट्टराई

पूर्वाधारको विकासबाटै आर्थिक वृद्धि सम्भव : डा. बाबुराम भट्टराई

Sep 11th, 2019

काठमाडौं, २५ भदौ 
नेपाल पूर्वाधार सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थासँग मिलेर उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनको प्रथम सत्रमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने बताउनुुभएको छ । द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

अहिले काठमाडौंमा केन्द्रित सहरीकरणलाई विकेन्द्रिकरण गर्न कम्तिमा तराइ मधेशसँग जोड्नुपर्ने भन्दै उहाँले तराइ क्षेत्रमा सहरीकरण बढाउन सकिने बताउनुभएको हो । उनले अन्य पुर्वाधार आयोजनामा अहिले नै निजी क्षेत्रले लगानी गर्नसक्ने सामथ्र्य बनाइनसकेको बताउनुभयो । ‘हामीले सुरुङमार्ग बनाउन निजी क्षेत्रलाई दिएका हौं, तर त्यो बन्न सकेन,’ उहाँले भन्नुभयो, ‘यसले हाम्रो निजी क्षेत्र अहिले पुर्वाधार परियोजनामा लगानी गर्नसक्ने अवस्थामा नपुगेको देखाउँछ ।’ 

नेता भट्टराईले बजारको विकास गर्न हरेक गाउँसम्म सडक सञ्जाल जोड्नुपर्ने बताउनुभयो । तराइमा निर्माणाधिन हुलाकी राजमार्ग र मध्येपहाडी लोकमार्ग निर्माण सम्पन्न गर्ने र प्रकृतिले नै दिएको कोशी, गण्डकी र कर्णाली बेसिनका अधारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले पहिलो प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । ‘बजारको निर्माण गर्न सडक सञ्जालमा सरकारले लगानी गरिदिएपछि निजी क्षेत्रले वस्तु र सेवाको उत्पादन गरेर राजश्व बढाउने आधार तयार गरिदिनुपर्छ।’ कम्तिमा विकासोन्मुख अर्थतन्त्रमा स्तरोन्नती हुन नसक्दासम्म सरकारले नै पुर्वाधारमा लागनी गर्नुपर्ने उहाँले बताउनुभयो । 

अहिले विश्व चौंथो औद्योगिक क्रान्तिको चरणमा रहे पनि नेपालले पहिलो औद्योगिक क्रान्तिसम्म गर्न नसकेको बताउनुभयो । अहिले पनि निर्वाहमुखि कृषिमा आधारित अर्थतन्त्र भएकाले यसलाई उद्योग र सेवा व्यवसायमा आधारित बनाउन सरकारले पुर्वाधार निर्माण र बजारीकरणको विकासमा काम गर्नुपर्ने उहाँको तर्क छ । निजी क्षेत्रले अहिलेको अवस्थामा ऊर्जामा लगानी बढाउने प्रसस्त सम्भावना रहेको, भारत र चीनदेखि भुटान र बंगलादेशसम्म बजारीकरण गर्न क्षेत्रीय कनेक्टिभिटीमा ध्यान दिनुपर्ने उहाँले बताउनुभएको छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले पछिल्लो समय नेपालले श्रम ऐनदेखि विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐनलगायत थुप्रै कानूनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको बताउनु भयो । डुइङ विजिनेशलाई सुधार गर्न नीतिगत र प्रकृयागत सुधारमा लागिएको उहाँले बताउनुभएको छ । भारत, चीन, अमेरिका, नर्वेजस्ता मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र अरु मुलुकका लगानीकर्ता पनि निरन्तर परियोजनाबारे छलफलमा आइरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वूचोङ उमले विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्येनजर गरेर रेसिलियण्ट पुर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ज्ञान, सीप, पैसा र प्रविधी लगानी गर्न सरकार र निजी क्षेत्रले सामुहिक प्रयास गर्नसक्ने बताउनु भयो । नविन प्रविधीको उत्पादन र उपयोग गर्नुका साथै यातायात पुर्वाधार र शैक्षिक क्षेत्रमा लगानी बढाउन उहाँले आग्रह गर्नुभयो । एडीबीले नेपालमा पुर्वाधारको क्षेत्रमा लगानी बढाउँदै गएको उहाँले बताउनुभयो । 

कार्यक्रममा सीएनआईका उपाध्यक्ष विष्णुकुमार अग्रवाल, पुर्व राजश्वसचिव लालशंकर घिमिरे, रकभिल्ड टेक्नोलोजी, अस्ट्रेलियाका सीईओ गोविन्द पाण्डे, एडीबीका पुर्व उपाध्यक्ष डा विन्दु लोहनी लगायतले पछिल्लो समय नेपालमा लगानीको वातारण सुधार भइरहेको र लगानीका नयाँ विकल्पहरुको बारेमा छलफल बढ्दै गएको बताउनुभयो । उहाँहरुले भारतलगायत मुलुकले अघि सारेका सार्वजनिक निजी साझेदारीका समस्याहरुबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो । सूचना प्रविधीको विकास र प्रयोगलाई आत्मसाथ गर्दै दिगो पुर्वाधारमा लगानी बढाउन उहाँहरुले आग्रह गर्नुभयो ।