neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • फर्निचर तथा फर्निसिङमा रु १० अर्बको कारोवार

फर्निचर तथा फर्निसिङमा रु १० अर्बको कारोवार

Sep 11th, 2019

मुलुकमा फर्निचर तथा फर्निसिङ क्षेत्रले करीब रु १० अर्बको वार्षिक कारोवार गर्ने गरेको छ ।नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आजदेखि भृकुटीमण्डपमा सञ्चालन गरेको सातौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपोमा उक्त कारोवारकाबारे जानकारी दिइएको हो । उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नुभएको एक्सपोमा फर्निचर तथा फर्निसिङका साथै कार्पेट, भान्छा, श्यया, स्नानकक्ष, इण्टेरियर डिजाइनरलगायत सामग्रीका १२० बिक्री कक्ष राखिएको छ ।

उक्त अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा प्रकाशित स्मारिका विमोचन गर्नुभएको थियो । यही भदौ २९ गतेसम्म एक्सपो जारी रहनेछ । नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक नीति निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि हेमराज ढकालले व्यापारको आकार वृद्धि गरेर समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेर मात्र कर बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल फर्निचर तथा फर्निसिङ महासङ्घका अध्यक्ष भूपेन्द्र गिरीले मुलुकमा भएको वनलाई व्यावसायिक ढङ्गले उपयोग गर्न नसकिएकाले फर्निचर तथा फर्निसिङ व्यवसायलाई आत्मनिर्भर बनाउन नसकिएको बताउनुभयो । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका अध्यक्ष रुपेश प्रधानले स्वदेशी उत्पादनले समग्र कारोवारको करीब ५० देखि ६० प्रतिशत प्रतिस्थापन गर्ने गरेको बताउँदै यस क्षेत्रमा प्रयोग हुने काठका उत्पादन स्वदेशमा गर्न सकेमा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो । रासस